वीरगन्ज,६जेठःपर्सा क्षेत्र नम्बर १ कम प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले वीरगन्जको हरि खेतान बहुमुखी क्याम्पसमा चलिरहेको विवाद समाधानका लागि छानबिन समिति गठन गर्न सरकारसंग माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद पन्तले हरि खेतान बहुमुखी क्याम्पसको विवाद विषय संसदमा उठाउँदै क्याम्पसमा केहिवर्ष यतादेखि जारी विवाद समाधानका लागि छानबिन समित गठन गर्न सरकारसंग माग गरेका हुन् ।
संसद बैठकमा बोल्दै पन्तले विक्रम संवत २०३८ सालमा स्थापना भएको हरि खेतान बहुुमुखी क्याम्पस अहिले झडपस्थलमा परिणत भएको भन्दै चिन्ता व्यक्त गरे । करिब चार हजार विद्यार्थी तथा १५० बढी प्राध्यापक र कर्मचारी कार्यरत रहेको क्याम्पसमा दैनिकजसो हुने नाराजुलुस र झडपका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको उनले बताए ।
गुठी संस्थानको जग्गामा निर्माण गरिएको क्याम्पसमा निर्माण सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक क्याम्पसको मूल विधान संशोधन गर्दै आएको आरोप लगाए । यसले सामुदायिक क्याम्पस निजीकरणतर्फ उन्मुख भएको आभाष पैदा गरेको उनको भनाइ थियो ।
सांसद पन्तले केहि दिनअघि मात्रै क्याम्पसमा भएको झडपमा क्याम्पस प्रमुख नै दुव्र्यवहारमा परेको तथा केही कर्मचारी अझै प्रहरी हिरासतमा रहेको भन्दै केही कर्मचारीलाई सेवाबाट हटाइएको अवस्थासमेत रहेको बताए ।
सरकारले यथाशीघ्र छानबिन समिति गठन गरी सामुदायिक क्याम्पसको मर्मअनुसारको विधान लागू गर्दै पठनपाठन पूर्ण रूपमा सञ्चालन गराउनपनि उनले माग गरे ।

