वीरगन्ज,७मंसिरः वीरगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष किसानबाट ४२ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । शाखा प्रमुख विकास कटुवालका अनुसार शाखाले केन्द्रबाट यस वर्ष ३७ हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो गरी ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ ।
गत वर्ष यसै शाखाले १० हजार क्विन्टल स्वीकृत र ५ हजार क्विन्टल थप गरी १४ हजार ८ सय क्विटन्ल धान खरिद गरेको थियो । शाखाले तुलनात्मक रुपमा यस वर्ष गत वर्ष भन्दा झण्डै ३ गुणा र हालसम्मकै सर्वाधिक धान खरिद गर्न लागेको हो । अघिल्लो वर्षमा शाखाले किसानबाट ३५ हजार क्विन्टल धान खरिद गरेको थियो ।
संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार ३ सय ६२ रुपैयाँ निर्धारण गरिसकेको छ । गत वर्ष यो धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ रहेको थियो ।
त्यसैगरी गत वर्ष शाखाले जिरा मसिनो धान ३ हजार २ सय ५० रुपैयाँमा खरिद गरेको थियो । प्रमुख जिल्ला अधिकारी संयोजक रहने स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने गर्छ । यस वर्ष पनि समितिले नै जिरा मसिनो धानको खरिद मूल्य निर्धारण गर्ने शाखा प्रमुख कटुवालले जानकारी दिए ।
गत वर्ष शाखाले एक जना किसानको न्युनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गरेको थियो । गत वर्ष पुसको अन्तिम साताबाट धान खरिद सुरु भएकोमा यस वर्ष भने मंसिरको अन्तिम सातादेखि खरिद सुरु गरिने कटुवालले बताए । शाखाले पर्सा,बारा र रौतहट गरि ३ जिल्लाका किसानको धान खरिद गर्ने गर्छ ।साभारः ईकान्तिपुरबाट