वीरगन्ज, ११ जेष्ठ : वीरगन्ज र काठमाडौँका झन्डै आधा दर्जन सङ्घ संस्थाहरुको सहकार्यमा आयोजित एकदिने मोटिभेशनल सेमिनार सम्पन्न भएको छ ।
वीरगञ्जस्थित टाउन हल पार्टी प्यालेसमा डब्ल्यूएएन एडूकेशन फाउन्डेसन, साइनअप एडूकेश्नल कन्सल्टेन्सी, वाइज इन्टरनेशनल कन्सल्टेन्सी र इ-स्पोट इन्टरनेश्नल एडूकेश्नल कन्सल्टेन्सीको आयोजना र परिवर्तन नेपाल फाउन्डेसनको सहकार्यमा आयोजित एकदिन मोटीभेशनल सेमिनार सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर एवम् कार्यक्रमका प्रमुख अतिथि राजेशमान सिंहले युवाहरु आफ्नो उर्जाको स्रोत भएको बताए । बाह्र कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा मेयर सिंहले सिक्ने उमेर नहुने बताउँदै सिकाइको कामलाई निरन्तर जारी राख्नु पर्ने बताए ।
‘आज म मधेस प्रदेशको एक मात्र महानगरको मेयर छु, यो भन्दैमा मेरो सिकाइको क्रम रोकिएको छैन । म सधै के नयाँ कुरा सिकिरहेको हुन्छ । आज यहाँ कार्यक्रमबाट पनि अवश्य नै केहि सिकेर जानेछु,’ उनले भने, ‘सिक्ने कार्यको अन्त्य हुँदैन । त्यसैले म सम्पूर्ण विद्यार्थी भाइबहिनिहरुसँग अनुरोध गर्छु । सिकाइलाई निरन्तरता दिनुहोला ।’
पढाईकाे सिलसिलामा जता गएपनि आफ्नो मातृभूमि र माटोलाई नबिर्सिन उनले सहभागीहरुसँग आग्रह गरे । आफूले पहिलो अक्षर अध्ययन भूमिलाई हामीले कहिलयै पनि बिर्सिनु नहुने बताउँदै उनले थपे, ‘जहाँ पढ्न जानु छ जानुहोस्, सफलताको उँचाईमा पुग्नुहोस् । शुभकामना सदै तपाईंको साथमा रहन्छ तर आफ्नो जन्मभूमि, कर्मभूमि र अध्ययनभूमिलाई कहिलयै नबिर्सिनु होला । फर्केर आउनु होला, यसको लागि केहि गरेर देखाउनु होला । अनि मात्र तपाईंहरु जीवनको परिक्षामा पास भइ हाल्नुहुन्छ ।’
एसइइ र बाह्र कक्षाको परिक्षा दिएका विद्यार्थीलाई लक्षित कार्यक्रममा नेपालका प्रख्यात मोटिभेशनल वक्ता (स्पिकर) रमण नेपालीले अभिमुखीकरण गरेका थिए । एक घण्टाभन्दा पनि लामो समयसम्म चलेको अभिमुखिकरणका दौरान नेपालीले विद्यार्थीलाई सफलताको सुत्रका बारेमा बताए ।
जन्मिँदा शारीरिक, मानसिक र आर्थिक रुपले सबल नभएपनि निरन्तर मिहिनेत र संघर्ष गरेर सफलता प्राप्त गरेका विश्वभरका व्यक्तिको उदाहरण दिँदै नेपालीले सफल बन्छु भन्ने सोच बनाएका व्यक्तिलाई कुनैपनि बाधा, अवरोधले नरोक्न सक्ने बताए । ‘हामी सफल हुन् चाहन्छौं भने सोहीअनुसार हामीलाई मिहिनेतपनि गर्नु पर्छ । सोचेर मात्र सफलता कसैलेपनि प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘सफलताको लागि आफ्नो क्षमता र गुणलाई पहिचान गर्दै त्यसलाई निरन्तर अभ्यास मार्फत परिस्कृत गर्दै लग्नु पर्छ ।’
सफलता र असफलता जीवनको एउटा भाग भएको सुनाउँदै उनले भने, ‘आज मैले चाहेको प्रत्येक कुरा मसँग छैन होला तर त्यसलाई प्राप्त गर्ने प्रयास मैले आझैपनि त्यागेको छैन । एकदिन पकैपनि मैले चाहेको, इच्छाएको कुरालाई मैले प्राप्त गर्छु होला । आज असफल हुँदैमा हरेस खाएर प्रयास गर्न छोड्नु हुँदैन, असफलताको कारण कोट्याएर त्यसमा काम गर्दै फेरी प्रयास गर्नुपर्छ ।’
उनले सफल बन्न आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक पक्षमा पन ध्यान पुर्याउने आवश्यक रहेको बताए । आफूलाई अनुसासित बनाएर सधै एउटा नयाँ कुरा सिक्दै जाँदा मात्र सफलता प्राप्त हुने उनको भनाई थियो । उनले सधै हाँसिलो अनुहार बनाएर जस्तोसुकै चुनौतीको सामना गर्न सहभागीहरुलाई सुझाव दिए ।
कार्यक्रममा बाह्र कक्षा पश्चात नेपालभन्दा बाहिर पढ्न जान चाहने विद्यार्थीलाई सही विषय र शैक्षिक संस्था छनौटका विषयमा जीआइईटी विश्वविद्यालयका प्रतिनिधि मनिष कुमारले जानकारी गराएका थिए । नेपालबाट हजारौं विद्यार्थी प्रत्येक वर्ष भारत अध्ययनका लागि गएपनि सही शैक्षिक संस्था छनौट गर्न नसक्दा उनीहरु ठगिने गरेको अनुभव सुनाउँदै उनले विश्वविद्यालय र कलेज छनौट गर्दा ध्यान पुर्याउनु पर्ने महत्वपूर्ण पक्षका बारेमा पनि छफलल गरेका थिए ।
इ-स्पोट इन्टरनेश्नल एडूकेश्नल कन्सल्टेन्सीका सभापति साकार जङ्ग शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वीरगन्ज कलेजका संस्थापक अध्यक्ष डा. दीपेन्द्रकुमार चौधरी, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा, ओम नेशनल एकेडमीका अध्यक्ष डा. लालबाबुप्रसाद यादव, जीवनज्योति स्कूलका प्रधानाध्यापक शिव गुप्ता, जनता समाजवादी पार्टी नेपाल वीरगन्ज नगर समितिका अध्यक्ष इश्वर चन्द्र यादव, मेघा कलेजका प्रवन्ध निर्देशक विश्वास प्रताप साह, सञ्चारकर्मी आशुकुमार सर्राफ, परिवर्तन नेपाल फाउन्डेसनका अध्यक्ष रणधीर बरनवाल, ए प्लस एकेडमीका निर्देशक देव जयसवाल, साइनअप एडूकेश्नल कन्सल्टेन्सीका सञ्चालक ई. मन्तोष प्रसाद, डब्ल्यूएएन एडूकेशन फाउन्डेसनका सञ्चालक राहुलकुमार बरनवाल, वाइज इन्टरनेशल कन्सल्टेन्सीका सञ्चालक विवेक जयसवाललगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन शिक्षा गुप्ताले गरेकी थिइन् ।