काठमाडौं,५ जेठः रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ । उनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग संसदमै उठेको छ ।
जनआस्था साप्ताहिकले हिजो (सोमबार)सांसद कार्कीले नाइजेरियन युवती रिता अजुकोलाई गर्भवती बनाएर ‘सम्पर्कविहीन भएको’ समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारसँगै सांसद कार्कीले अजुकोलाई बुई बोकेर हिँडेको, गाडीमा बसेर संवेदनशील अंग मुसारेको भिडिओहरू पनि सार्वजनिक गरिएका थिए ।
उनीहरूबीच भएको च्याटका स्क्रिनसटहरूले अजुकोलाई कार्कीले गर्भवती बनाएको पुष्टि भएको छ । यतिमात्र नभएर अजुकोको गर्भपरीक्षण गर्दा श्रीमान् भनेर कृष्ण कार्कीको नाम उल्लेख भएको पनि भेटिएको छ । अजुकोले सुरूमै गर्भपतन गर्न खोज्दा कार्कीले नै रोकेका थिए । तर, पछि कार्की सम्पर्कविहीन बनेपछि अजुकोले न्यायको याचना गरिरहेकी छन् ।
यो विषयमा कार्कीले कुनै पनि प्रष्टीकरण दिएका छैनन् । उनी हिजो र आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा पनि अनुपस्थित बने । हिजो उनले वैठकमा बोल्न कार्कीले नाम टिपाएका थिए । तर, उपस्थित भएनन् । सभामुख डोलप्रसाद अर्यालले तीन पटक उनको नाम बोलाएका थिए ।
आजको संसद बैठकमा नेकपाकी सांसद पार्वती विकले यो विषय उठाएकी थिइन् । उनले सांसद कार्कीमाथि छानविन गरी दोषि देखिए कारबाही गर्न माग गरिन् ।
जेनजी मुभमेन्ट नेपालले कार्कीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । जेनजी प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्की सिंहदरबार आगजनीमा संलग्न रहेको र विदेशी महिलालाई गर्भवती बनाएर छोडेको भन्दै पक्राउ गर्न माग गरिएको हो ।
जेन–जी मुभमेन्टले विज्ञप्तिमा भनेको छ, ‘सांसद कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसमेत सार्वजनिक रुपमा उठिरहेको छ । यो विषयमा निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस् ।’

