
सर्लाही,१जेठ:सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ बजे इँटा निकाल्ने क्रममा चाङ खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेहरूमा सर्लाहीको गौडेता नगरपालिका–७ रामवन बस्ने ५० वर्षीय फिताई मन्सुर, गौडेता नगरपालिका–९ बस्ने ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर बस्ने ३५ वर्षीय अंगद कुमार रहेका छन् ।
घटनामा सर्लाहीकाे मलंगवा नगरपालिका–७ बस्ने ३२ वर्षीय तुलसी महतो र त्यही स्थानका ५२ वर्षीय सत्य नारायण महतो घाइते भएका छन् । तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्य नारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

