वीरगन्ज,२९ वैशाख : नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापा बादलले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्।
‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रुपमा उत्पन्न भएको अति महत्वकांक्षी अराजक जमातहरुको अस्थायी गठजोड हो । यो दार्शनिक रुपमा सारसंग्रवाद र राजनीतिक रुपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो, बादलले अगाडि भने, ‘यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो । यो रुपमा अत्यन्त प्रिय देखिन्छ । तर सार परिणाममा अत्यन्तै घातक हुन्छ । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो।’
उनले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताए।उनले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाए। राष्ट्रिय गौरवका धरोधरहरुमा आगजनी हुँदा मौन बसेको सेना सुकुम्बासीको बस्ती उठाउन भने उभिएको भन्दै उनले सेनाको नियतमाथि प्रश्न उठाए।

