
वीरगन्ज,२७ चैतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदाको दिन पनि ओपीडी (बहिरंग) सेवा उपलब्ध गराउन सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ । कामको चाप र जनशक्ति हेरेर ओपीडी सेवा दिन मन्त्रालयले भनेको छ ।
यसरी काम गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था मिलाउन भनिएको छ । “अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड (कामको चाप) र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने,” मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यस व्यवस्थाको लागु गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्ने ।”
प्रादेशिक अस्पतालमा समेत यो व्यवस्था मिलाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयको उक्त निर्देशन अनुसार वीरगन्जको नारायणी अस्पतालमा पनि आइतबार ओपीडी (बहिरंग) सेवा सञ्चालनमा रहने भएकोछ । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने भनेपनि स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नारायणी अस्पतालमा आइतबार ओपीडी सेवा बन्द नरहने अस्पतालका मेसु डा. चित्तरन्जन साहले बताए ।उनले भने, आइताबार पनि ओपीडी सेवा बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म सञ्चालनमा रहन्छ ।

