वीरगन्ज ,१५ फागुन : पर्सा २ का नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाले आफ्नो बलियो आधार क्षेत्र मानिएको बिरुवागुठीमा व्यापक घरदैलो कार्यक्रम गरेका छन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र पर्सा–२ अन्तर्गत पर्ने बिरुवागुठीका सबै वडामा उनले एकैदिन घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
आज बिहानदेखि साँझसम्म चलेको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता देखिएको थियो। घरदैलोका क्रममा उनले विगतमा आफूले क्षेत्रमा अघि बढाएका विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका पहलहरूबारे जानकारी गराउँदै आगामी कार्ययोजना पनि सार्वजनिक गरे।
चौरसियाले अधुरा योजनालाई पूर्णता दिन र विकासको गति निरन्तर अगाडि बढाउन पुनः एकपटक अवसर दिन मतदातासँग आग्रह गरे। “विकासलाई निरन्तरता दिन स्थिर र अनुभवी नेतृत्व आवश्यक छ,” उनले भने।
उनको सचिवालयका अनुसार घरदैलोका क्रममा स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया दिँदै पुनः विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले बिरुवागुठी क्षेत्रमा कांग्रेसको जनआधार अझ सुदृढ रहेको संकेत गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
एकैदिन सबै वडामा गरिएको कार्यक्रमलाई चुनावी रणनीति अन्तर्गत गरिएको ‘शक्ति प्रदर्शन’का रूपमा पनि हेरिएको छ। चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला चौरसियाको सक्रियता आगामी प्रतिस्पर्धामा प्रभावकारी बन्ने आकलन गरिएको छ।


