वीरगंज १० फागुन ,माधुरी महतोः करीब ११ दिनपछि ,फागुन २१ गते हुन गईरहेको निर्वाचनलाई लिएर मधेशमा अलग्गै उत्साह देखिएको छ। वृद्धदेखि युवासम्मका विभिन्न उमेर समूहका मतदाताहरू यसपालिको चुनावमा केही सकारात्मक परिवर्तन होला कि भन्ने आशामा छन्।
मधेशका विभिन्न जिल्लामा उम्मेदवारहरूको घरदैलो, सभा तथा भेटघाट कार्यक्रम तीव्र भइरहेका छन् भने मतदाताहरू पनि यसपटकको चुनावलाई निर्णायक रूपमा हेरिरहेका छन्। तर मतदाताको मूड मिश्रित छ। केही पुराना दलहरूप्रति असन्तुष्ट छन् भने केही नयाँ विकल्पप्रति आशावादी छन्। “यसपटक परिवर्तन चाहिन्छ” भन्ने आवाज बलियो सुनिन्छ, तर जनताले भाषणभन्दा पनि काम गर्ने, विश्वासिलो र इमान्दार नेतृत्व खोजिरहेका छन्।
यसै सन्दर्भमा रौतहटकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी जिना राणाले सबैलाई समान रूपमा हेर्न सक्ने उम्मेदवार छान्नुपर्ने बताइन्। “हाम्रो समुदायका लागि मात्र होइन, सबै समुदायका लागि ठोस काम गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने सोचेका छौँ,” उनले भनिन्। सामाजिक सञ्जालमा धेरै प्रचार भए पनि वास्तविकता फरक हुन सक्ने भन्दै शिक्षा, रोजगारी र आर्थिक मुद्दालाई मुख्य ठानिन्। उनले भनिन् ,यसपालि उम्मेदवारीमा फरक देखिएको छ, चुनावपछि केही फरक अवस्था आउँला भन्ने आशा छ।”अहिलेसम्म गरेका कामको मूल्यांकन गरेर दिने कि नयाँलाई पनि अवसर दिने भन्ने कुरा अहिले सोचिरहेका छौँ।
जनकपुरकी स्नेहा सिंहले जेनजी आन्दोलनपछि देशले नयाँपन खोजिरहेको बताउँदै भनिन्, “परिवर्तनका लागि चुनाव र मतदान आवश्यक छ।” सबै पुराना पार्टी खराब नभएको उल्लेख गर्दै उनले पार्टीभन्दा केही व्यक्तिका कारण बदनाम भएको धारणा राखिन्। रोजगारी र अर्थतन्त्र अहिलेको मुख्य मुद्दा भएको बताउँदै महिलाको उम्मेदवारी अवस्था अझै उस्तै रहेकोमा असन्तुष्टि व्यक्त गरिन्।
वीरगंजका समाजसेवी श्याम साहले २०८४ मा हुनुपर्ने निर्वाचन विभिन्न कारणले दुई वर्ष अगावै हुँदै गर्दा, यो चुनाव देशकै लागि ऐतिहासिक हुने विश्वास व्यक्त गरे। “युवामा मात्र होइन, सबै उमेर समूहमा उत्साह छ,” उनले भने। विकास, उद्यम, स्थिर सरकार, शान्ति सुव्यवस्था रभ्रष्टाचारविनाको शासन मुख्य मुद्दा भएको उनको भनाइ छ।
सप्तरीका युवा हरिओम मेहताले अब सचेत र पढेलेखेको नेतृत्व आवश्यक रहेको बताए। “नयाँ पार्टी नै हुनुपर्छ भन्ने होइन, जुनसुकै पार्टीका भए पनि काम गर्नेलाई मतदान गर्नुपर्छ,” उनले भने। प्रलोभनमा नपरी बुझेर मतदान गर्नुपर्ने र सामाजिक सञ्जालको प्रचारको पछि नलाग्न आग्रह गर्दै शिक्षा नै सबैभन्दा महत्वपूर्ण मुद्दा भएको उनको जोड छ।
समग्रमा मधेशमा मतदाताहरूले यो चुनावलाई आशा र दबाब दुवैका रूपमा लिएका छन्। जनता यसपटक इमान्दार, काम गर्ने र समान अधिकार सुनिश्चित गर्ने नेतृत्वको अपेक्षामा छन्।
चुनावी तथ्याङ्कमा मधेश प्रदेश
प्रदेशः मधेश
जिल्लाको सङ्ख्याः ८
कुल निर्वाचन क्षेत्रः ३२
कुल मतदाताः ३६,३६,४१४
महिलाः १६,६३,३७४
पुरुषः १९,७२,९६४
अन्यः ७६
कुल उम्मेदवारः १,०४२
महिलाः १०१
पुरुष : ९४१
अन्यः ०
मतदान केन्द्रः४,४७९
मतदान स्थलः२,१६०

