
वीरगंज २०,माघ :पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले आज मंगलबार पनि भेटघाट तथा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन्।
पर्सागढी नगरपालिकाको वडा नम्बर ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै चौरसियाले आफूले भोगेको पीडा र जनताप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।
चौरसियाले घरमा आगलागी भई सम्पूर्ण सामान नष्ट हुँदा आफू भावुक भएको उल्लेख गर्दै भने, “घर जलेपछि जब म फर्किएँ, मेरो आँखाबाट आँसु झरेको थियो। यो घटनामा जेन–जी नभई अरूको संलग्नता रहेको कुरा प्रष्ट छ।” यस्ता कठिन परिस्थितिका बाबजुद पनि आफूले सधैं जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको र भविष्यमा पनि त्यही प्रतिबद्धता कायम रहने उनले बताए।
उनले पीडाको अवस्थामा समेत आफ्ना व्यक्तिगत समस्याभन्दा जनताको दुःख–पीडालाई प्राथमिकता दिएको भन्दै नेपाली काँग्रेस जस्तो ऐतिहासिक पार्टी नै जनताको हक–अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी भएको दाबी गरे।
अन्य दलको भ्रममा नपरी काँग्रेसका चारै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन उनले मतदाता तथा कार्यकर्तालाई आग्रह गरे।आफूलाई समाजमा अजय चौरसियाकै रूपमा स्थापित गर्दै पर्सा क्षेत्र नम्बर २ मा विजयी गराउन जन–जनसम्म पुगेर प्रचार–प्रसार गर्न पनि उनले कार्यकर्तालाई आह्वान गरे।
कार्यक्रममा कृषि मन्त्री श्यामप्रसाद पटेल, वडा अध्यक्ष सुकमन तामाङ, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, अगुवा नेता चिन पाख्रिन, प्रेम लामा, रामराज चौधरी, करिश्मा चौधरी, सुन्दर मैनाली, भागवत चौधरी लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

