Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

वीरगन्ज,१८चैत:सामाजिक सञ्जाल र मोबाइल फोन मार्फत नेपाल,भारत, पाकिस्तान लगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्ने चिनियाँ गिरोहलाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवास्थित अढाइ तल्ले एउटा घर भाडामा लिएर कल सेन्टर स्थापना गरी अनलाइन ठगीको धन्दा चलाइरहेका चिनियाँ गिरोहलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक र चिनियाँ भाषाको अनुवाद दुई जना नेपाली नागरिक रहेका छन् ।ती मध्ये चिनियाँ नागरिकलाई मात्र आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।अनुवादक दुई जना नेपालीको भने प्रहरीले परिचय खुलाएको छैन ।पक्राउ पर्ने चिनियाँ नागरिकमा चिनको हुवान प्रान्तका ३३ बर्षिय लियु सियु साइ, हुबेइ प्रान्तका २६ बर्षिय वाङ्ग बोहान र हुबेइ प्रान्तकै ३६ बर्षिय छियाङ्ग छियो रहेका छन् ।

वीरगन्जमा दुई महिनादेखि कल सेन्टर कार्यालय नै स्थापना गरेर अनलाइन चिठ्ठा,अनलाइन सपिङ लगायतका जस्ता विभिन्न प्रकारका प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना करिब डेढ महिनापहिले प्रहरीलाई प्राप्त भएको थियो ।

त्यहि सूचनाका आधारमा शनिबार अपरान्ह प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा डेरा लिएर बस्दै आएका लियु र वाङ्गलाई तथा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ बाट छियाङ्गलाई नियन्त्रणमा लिएको थियो । उनिहरुलाई नियन्त्रणमा लिएलगत्तै पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वको प्रहरी टोलीले उनिहरुले कल सेन्टर स्थापना गरेको वीरगन्ज १५ लक्ष्मणवास्थित नन्दू पटेलको घरमा पुगेर छापा मारेको थियो । त्यसक्रममा उक्त घरमा सञ्चालित कल सेन्टरबाट प्रहरीले ठूलो परिमाणमा विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल सेट ,सिमकार्ड लगायतका सामग्री बरामद गरेको थियो।

अढाई तल्ले पूरा घरनै भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान,ल्यापटप ४ थान,विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान,प्रिन्टर १ थान,किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान, इन्भर्टर २ थान,विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेशीयन मुद्रा ३७ रिंगिट , कम्बोेडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए । यस्तै उक्त घरबाटै बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२–०३–०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले यो गिरोहमा संलग्न तीन जना चिनियाँ नागरिकलाई मात्र पक्राउ गरेको जानकारी दिएपनि प्रहरीले थप अरु दुई जना चिनियाँ नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । वीरगन्जको होटल भिस्वाबाट प्रहरीले थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो । तर पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढुंगेलले अनुसन्धानका क्रममा थप दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएपनि अनुसन्धानका क्रममा उनिहरुको संलग्नता नदेखिएको बताए ।प्रहरीको अनुसन्धानका क्रममा ती दुई चिनियाँ नागरिक पर्यटकका रुपमा वीरगन्जमा घुम्न आएको खुलेकाले उनिहरुलाई आवश्यक प्रकृया पूरुा गरि रिहा गरिने बताए । यस्तै पक्राउ परेका चिनियाँ भाषका अनुवादक दुई नेपाली नागरिकलाईपनि तारिखमा रिहा गरिने ढुंगेलले बताए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरक्षिक ढुंगेलले प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जना चिनियाँ नागरिकले पटेलको घर भाडामा लिएर दुई महिनादेखि कल सेन्टर कार्यालय स्थापना गरी कर्मचारीसमेत राखेर अनलाइन ठगी गर्दै आएका थिए । नेपाल,भारत, पाकिस्तान लगायतका मुलुकमा रहेका व्याक्तिहरुसंग सामाजिक सञ्जाल र मोबाइल फोन मार्फत अनलाइन चिठ्ठा परेको लगायतका प्रलोभनमा पारेर उनिहरुले ठगी गर्दै आएको खुलेको जानकारी ढुंगेलले दिए ।

पक्राउ परेका चिनियाँ नागरिकहरुले विभिन्न देशका नागरिकबाट अनालइन ठगी गरेको रकम भारतका विभिन्न बैंकहरु मार्फत कारोबार हुने गरेको देखिएका उनले बताए ।उनिहरुले यो धन्दाका लागि नेपाल,भारत,पाकिस्तान लगायतका मुलुकमा आफना एजेन्टपनि राखेको तथ्य अनुसन्धानका क्रममा खुलेको ढुंगेलले बताए ।

नियन्त्रणमा लिइएका मोबाइल फोनमा रेकर्ड भएका संवाद चिनियाँ भाषामा रहेको र बयानका क्रममा उनिहरुले चिनियाँ भाषामै बोलिरहेकाले चिनियाँ भाषाविद् र अनुवादकहरुलाई बोलाएर थप अनुसन्धान गरिने ढुंगेलले बताए । त्यसपछि मात्रै यो गिरोहका वास्तिवकता खुल्ने उनले बताए ।

 

Related posts

बाराकाे कबहीगाेठबाट ३० केजी गाजा बरामद

MadhesKhabar

अजय द्विवेदीले पाए चुनाव चिन्ह माछा

MadhesKhabar

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : म गेट बनाउदिन, सडक, पुल र स्कुल बनाउछु

MadhesKhabar

Leave a Comment