Madhes Khabar
कृषि हेडलाइन

चैते धान बालीका लागि मलको अभाव

फाइल फोटो।

वीरगन्ज,२९चैतः चैते धान बालीको लागि डिएपी र युरिया मलको माग बढेपछि वीरगन्जस्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले बफर स्टक (संचित मौज्दात) को मल वितरण गर्न थालेका छन् । वीरगन्जस्थित कम्पनी र कर्पोरेशनको मधेस प्रादेशिक कार्यालयहरुले दुई सातादेखि संचित मौज्दातको मल मातहतका जिल्लाहरुमा परिचालन गर्न थालेका हुन् ।

सामान्यतया यी संस्थानले संचित मौज्दातको मल आपतकालीन अवस्थामा तथा नेपाल कृषि अनुसन्धान परिषद, बीजवृद्धि कार्यक्रम जस्ता सरकारी निकायहरुलाई आवश्यक परेको बेला वर्षैभरि उपलब्ध गराउन भण्डारण गरी राख्ने गरेका छन् । नियमित रुपमा भित्रिने मलको कूल परिमाणबाट १० प्रतिशत छुट्याएर यसरी संचित मौज्दात राख्ने चलन रहेको छ ।

तर यसपटक चैते धान बाली सिजनको माग नियमित आएको मलले पनि धान्न नसकेपछि संघीय कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको निर्देशनपछि वीरगन्जका दुबै कार्यालयले संचित मौज्दातको मल समेत परिचालन गरेका हुन् ।

कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार प्रादेशिक कार्यालयसँग १ हजार ७ सय टन डिएपी र २ हजार ४ सय टन युरिया मल संचित मौज्दात रहेकोमा मातहतका १६ जिल्लाहरुमा यसै मौज्दातको मल परिचालन गरिंदैछ । सम्बन्धित जिल्लाहरुले प्राप्त गरेको कोटाकै आधारमा मल परिचालन भइरहेको उनले बताए ।

‘प्रत्येक जिल्लास्थित कृषि ज्ञान केन्द्रले गरेको सिफारिसको आधारमा ती जिल्लाहरुमा मल परिचालन गरिँदैछ,’ उनले भने, ‘पर्सामा मात्रै २ सय ५० टन युरिया र त्यतिनै परिमाणमा डिएपी मल परिचालन भइरहेको छ ।’

यता कर्पोरेशन मधेस प्रादेशिक कार्यालय वीरगन्जसंग ९ सय १७ मेट्रिक टन युरिया र ७ सय मेट्रिक टन डिएपी मलको मौज्दात रहेकोमा सोही मौज्दातबाट मातहतका ८ जिल्लाहरुमा मल परिचालन भइरहेको कार्यालयका सूचना अधिकृत संजय साहले जानकारी दिए ।

‘हामीले संघिय र प्रादेशिक मन्त्रालयको निर्देशन अनुसारनै संचित मौज्दातको मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘चैते धान उत्पादनको लागि भनेर मन्त्रालयहरुबाट मल परिचालनको निर्देशन आएको हो ।’ साभार:ईकान्तिपुरबाट

Related posts

गाडी, मदिरा र माेबाइलकाे आयात प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तारको काममा अवरोध गर्न फेरि चलखेल सुरु,सर्वोच्चमा नयाँ रिट दर्ता

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

Leave a Comment