वीरगन्ज,१७माघःपर्साको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर ४ मा शनिबार नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको भेलामा बोल्दै पर्सा–२ का उम्मेदवार अजयकुमार चौरसियाले लोकतन्त्र, विकास र स्थायित्वका लागि नेपाली कांग्रेसको विजय अनिवार्य रहेको बताए।
उनले पर्सा क्षेत्र नम्बर २ मा आँफूले विगतमा गरेका विकासका काम र आगामी दिनमा अघि बढाउने योजनाबारे कार्यकर्तालाई जानकारी गराए।चुनावी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। “कांग्रेसको शक्ति भनेकै जनता हुन्, पार्टीका कार्यकर्ता हुन्,” उनले भने, “एकताबद्ध भएर घर–घरमा पुग्दा विजय सुनिश्चित हुन्छ।”
भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मीले कांग्रेस केन्द्रीय सदस्य राम रूप कुर्मी ले संगठन बलियो बनाउन कार्यकर्ताको सक्रियता र अनुशासन अपरिहार्य रहेको बताए।
यस्तै बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साहले कांग्रेसले सधैं जनताको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै पर्सामा विकासको निरन्तरताका लागि कांग्रेस उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे।
बहुदरमाई नगरपालिका वडा नम्बर ४ का कांग्रेस बुथ सभापति राजेन्द्र यादवको अध्यक्षतामा भएको उक्त भेलामा संगठन सुदृढीकरण, घरदैलो अभियान, मतदाता परिचालन, प्रचार–प्रसारको रणनीति तथा स्थानीय तहमा देखिएका समस्या र जनअपेक्षाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले बहुदरमाई क्षेत्रमा देखिएका विकासका आवश्यकता, शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका विषयमा उम्मेदवारसँग प्रत्यक्ष छलफल गरेका थिए। उनीहरूले कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका थिए ।

