वीरगन्ज,१७माघःपर्साको क्षेत्र नम्बर ४ का दुई स्थानमा शनिबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरि छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा र ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तीमा कांग्रेसको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।
भेलामा बोल्दै पर्सा–४ का कांग्रेस उम्मेदवार रमेश रिजालले जनताको भरोसा, साथ र सक्रिय सहभागिता बेगर मुलुकको समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने बताए । उनले विकासप्रेमी, सुशासनको पक्षधर र जनउत्तरदायी नेतृत्व छान्ने अवसर फेरि एकपटक जनताको हातमा आएकोले लहडमा नलागेर सुझबुझका साथ फागुन २१ को निर्वाचनमा मतदान गर्नुपर्ने कुरा जनतालाई कार्याकर्ताले बुझाउनुपर्नेमा जोड दिए ।
उनले पर्सा–४ का जनताको हक–हितका लागि निरन्तर संघर्षरत रहेको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै क्षेत्रको दिगो विकास सम्भव हुने दाबीपनि गरे।
भेलामा नेपाली कांग्रेसका मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायतका नेताहरूको पनि सहभागिता थियो।

