वीरगन्ज,१६ माघ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले शुक्रबार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ मन्वा कोइलाभारमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
शहीद दिवसको अवसर पारेर बिहानै कोइलाभार पुगेका कानुले जेन–जी आन्दोलनका क्रममा राज्यको दमनबाट ज्यान गुमाएका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै जनतासँग प्रत्यक्ष भेटघाट गरेका थिए । भेटघाटका क्रममा उनले शहीदहरूको बलिदानलाई स्मरण गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गरे ।
कानुले जेन–जी आन्दोलनमाथि भएको दमनका लागि तत्कालीन सरकारको नेतृत्व गर्ने नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका दलहरू जिम्मेवार रहेको आरोप लगाए । उनले काँग्रेस र एमालेलगायतका दलहरूलाई मतदान नगर्न आग्रह गर्दै परिवर्तन र जेन–जीको भावना अनुरूप अगाडि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोज्न मतदातासमक्ष अपिल गरे ।
उनले रास्वपाले जेन–जी आन्दोलन मात्र नभई मधेस आन्दोलन तथा देशभर परिवर्तनका लागि भएका सम्पूर्ण आन्दोलनका क्रममा बलिदान दिएका शहीदहरूलाई सम्मान गर्ने दीर्घकालीन योजना बनाएको जानकारी पनि दिए । “शहीदहरूको योगदानलाई तत्कालीन सरकारले आतङ्कवादी गतिविधि भन्दै अवमूल्यन ग¥यो, यो दुर्भाग्यपूर्ण हो,” कानुले भने, “अब जनताले परिवर्तनको पक्षमा उभिनुपर्छ र शहीदहरूको सम्मान सुनिश्चित गर्नुपर्छ ।”
कानुले पर्सा–२ का तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अजय चौरसियामाथि पनि जेन–जी आन्दोलनमाथि दमन गर्ने सरकारमा सहभागी भएको भन्दै आरोप लगाए । उनले यस्ता प्रवृत्तिविरुद्ध जनमत निर्माण गर्न रास्वपाले अग्रसरता लिएको दाबी गरे ।
घरदैलो तथा जनता दर्शन कार्यक्रमका क्रममा कानुले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सुशासनका विषयमा छलफल गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे । उनले पर्सा–२ लाई विकास र पारदर्शिताको नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्दै जनताको समर्थन मागे ।
कार्यक्रममा स्थानीय युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले आफ्ना समस्या, अपेक्षा र सुझाव कानुसमक्ष राख्दै आगामी दिनमा प्रभावकारी प्रतिनिधित्वको आशा व्यक्त गरेका थिए ।

