Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

६ महिनामा नेपालमा विदेशबाट साढे २० अर्बको धान र चामल आयात

काठमाडौं,८माघः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालमा विदेशबाट करिब साढे २० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा (साउनदेखि पुससम्ममा ) नेपालमा २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धान र चामल आयात गरिएको हो ।

भन्सार विभागका अनुसार यसअघि गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अवधिको तुलनामा यस वर्ष धान र चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा धेरै वृद्धि देखिएको हो ।

गत वर्ष साउनदेखि पुससम्म नेपालले १९ अर्ब ९ करोड ९६ लाख बराबरको धान र चामल आयात गरेको थियो । सोही अवधिको तुलनामा धानचामल आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पुससम्म ४ अर्ब २७ करोड १२ लाख रुपैयाँ मूल्य बराबरको बासमती चामल आयात भएको छ, जुन गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाखमात्र थियो ।

त्यसैगरी अन्य अर्ध–पालिस वा पूर्ण पालिस गरिएका चामल आयातमा पनि उल्लेख्य बढेको छ । गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको यस्तो चामल भित्रिएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख पुगेको छ ।

प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ । गत वर्ष ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष ९ अर्ब ८७ करोड ९ लाख र परिमाण २७ करोड ७ लाख किलोमा झरेको छ ।

यसैगरी बिउका लागि प्रयोग हुने धान आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष ६० किलो बिउका लागि जम्मा ४ हजार रुपैयाँमात्र बाहिरिएको थियो ।

गत वर्ष पहिलो ६ महिनामा जम्मा १७ लाख ५४ हजार रुपैयाँको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार बराबरको कनिका नेपाल भित्रिएको छ ।

तथ्यांक अनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्वमा भने गिरावट आएको छ । गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख बराबर राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाखमा खुम्चिएको छ ।

मुलुकभित्र उत्पादन बढाउने सरकारी नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती थपेको छ ।

Related posts

कार्यसम्पादन मुल्यांकनमा बाराकाे परवानीपुर गाउँपालिका मधेस प्रदेश मै सर्वाेत्कृष्ट

MadhesKhabar

जेनजी आन्दोलनका कारण वीरगन्ज भन्सारलाई राजस्व संकलनमा १ अर्ब ५३ करोड घाटा

MadhesKhabar

वीरगन्जका वडाध्यक्ष कानुकाे पशुप्रेम:चिसोबाट जोगाउन सडकका कुकुरकाे लागि घर बनाउँदै

MadhesKhabar

Leave a Comment