काठमाडौं,१०पुसःनेपाली कांग्रेसमा एक लाख ५० हजार (डेढ लाख) नयाँ क्रियाशील सदस्य थपिएका छन् । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य योगेन्द्र चौधरीले डेढ लाख नयाँ क्रियाशील सदस्य सर्भरमा इन्ट्री भएको जानकारी दिए ।
‘हामीले ६ लाख नयाँ क्रियशील सदस्यताको फारम पठाएका थियौँ, तीमध्ये डेढ लाख सदस्यता सर्भरमा इन्ट्री भइसकेका छन्,’ चौधरीले भने, ‘बाँकी आउने क्रम जारी छ ।’
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन अगाडि २ लाख फारम १६५ वटै निर्वाचन क्षेत्रमा पठाएको थियो ।जेनजी आन्दोलनपछि ४ लाख फारम पठाइएको थियो, तर सिरियल नम्बरबिना फारम पठाइएको पाइएपछि ती फारम रद्द गरेर फेरि सिरियल नम्बर सहितका फारम पठाइएको थियो । त्यसले केही ढिलाइ भएको सदस्य चौधरीले जानकारी दिए ।
नयाँ फारम पठाउनका लागि समितिले बिहीबार साँझसम्मको समय तोकेको छ, तर अहिलेसम्म दुई क्षेत्रमा फारम गएको छैन । बारा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र खोटाङमा नयाँ क्रियाशील सदस्यताको फारम नपुगेको चौधरीले जानकारी दिए । चौधरीका अनुसार बारा–१ मा पनि वर्षौँदेखिको विवाद मिल्न नसक्दा सदस्यताको फारम गएको छैन, त्यहाँ नवीकरणको काम पनि भएको छैन ।
यस्तै खोटाङका कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईका अनुसार अनुशासनको कारबाहीमा परेर निलम्बित हुँदा त्यहाँ सदस्यता वितरण र नवीकरणको प्रक्रिया नै सुरु भएको छैन ।
कांग्रेसले प्रक्रिया पु¥याएर मागेमा नयाँ क्रियाशील सदस्यताका थप फारम पनि पठाइने चौधरीले जानकारी दिए ।
कांग्रेसले अहिले सदस्यता वितरणको प्रावधानमा केही फितलो बनाउँदै सकभर शतप्रतिशत नयाँ थप्ने रणनीति लिएको छ । यसअघि कांग्रेसले १४ औँ महाधिवेशनमा पुराना सदस्यको २५ प्रतिशत मात्रै नयाँ सदस्यता दिएको थियो । २०७८ सालमा भएको १४औँ महाधिवेशनमा ८ लाख ६७ हजार ८७० क्रियाशील सदस्य थिए ।१५औँ महाधिवेशनका लागि अझै नवीकरणको काम सकिएको छैन ।साभारःरातोपाटी

