वीरगन्ज,५पुसः कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको पर्सा जिल्ला कार्यसमितिले बंगलादेशमा हिन्दु युवकमाथि भएको हिंसाका दोषीहरुलाई कारबाहीको माग गरेको छ ।
उज्यालो नेपाल पार्टीका पर्सा जिल्ला संयोजक रामबाबु यादवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दुहरुमाथि गरिएको दमन,हिंसा र अमानवीय व्यवहारमा संलग्नहरुलाई कारबाहीको माग गरेका हुन् ।
यादवले जारी गरेको विज्ञिप्तमा भनिएको छ–हालै बंगलादेशमा भएको अमानवीय तथा दुःखद घटनाप्रति उज्यालो नेपाल पार्टी पर्सा गहिरो दुःख र चिन्ता व्यक्त गर्दछ। यस्तो घटनाले मानवता, सभ्यता र सामाजिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ।
उज्यालो नेपाल पार्टी पर्सा मानव अधिकार, मानव मर्यादा र न्यायको पक्षमा दृढ रूपमा उभिएको राजनीतिक शक्ति हो। कुनै पनि प्रकारको हिंसा, अमानवीय व्यवहार, अन्याय र दमनलाई पार्टीले कडा रूपमा निन्दा गर्दछ। पीडितप्रति हाम्रो गहिरो सहानुभूति छ र दोषीलाई कानुनी दायराभित्र ल्याई निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।


