Madhes Khabar
राजनीति हेडलाइन

चुनावमा भाग लिने कांग्रेसको आधिकारिक र अन्तिम निर्णय हो : गगन थापा

काठमाडौं,२२मंसिर:नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आमचुनावमा भाग लिने भनेर केन्द्रीय समितिले गरेको निर्णय नै आधिकारिक र अन्तिम निर्णय रहेको बताएका छन्।

मंसिर ६ गतेको केन्द्रीय समिति बैठकले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो।

तर आइतबार कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान सांसदहरू प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा रिट लिएर सर्वोच्च अदालत गएका छन्।

केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको र प्रतिनिधि सभा विघटनको विषय अदालतलाई छाडेको अवस्थामा पनि कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्च अदालत कुन निर्णयका आधारमा गएका हुन् भन्ने प्रश्नमा जबाफ दिँदै महामन्त्री थापाले आमनिर्वाचनमा जाने निर्णय नै पार्टीको आधिकारिक र अन्तिम निर्णय भएको प्रतिक्रिया दिएका हुन्।

‘नेपाली कांग्रेस पार्टीभित्र केन्द्रीय समिति बैठक चल्दैगर्दा बहस र छलफल हुँदा निर्वाचनमा जानुपर्छ भन्ने एउटा विचार र प्रतिनिधि सभा पुनर्स्थापनामा जानुपर्छ भन्ने अर्को विचार थियो। हामीकहाँ आ-आफ्नो विचार राख्न पाउने स्वतन्त्रता छ। तर पार्टीले लामो छलफल गरेर आधिकारिक निर्णय गरेको भनेको- आमनिर्वाचनमा हामी जाने हो, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि हामी जाने होइन भन्ने हो। यो अदालतको विषय हो, अदालतलाई नै हामीले छाडिदिऊँ, हामीले लामो व्याख्या गरेर केन्द्रीय समितिको निर्णयमै यो कुरा भनेका छौं,’ महामन्त्री थापाले भने।

केन्द्रीय समितिले गरेको निर्णय फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने रहेको महामन्त्री थापाले बताए।

‘पार्टीको आधिकारिक निर्णय फागुन २१ को निर्वाचनमा जाने हो, त्यसको दायाँ बायाँ केही पनि कुरा छैन, जो साथीहरू रिट लिएर सर्वोच्च जानुभयो भन्ने छ त्यो उहाँहरूको व्यक्तिगत कुरा हो, व्यक्तिगत विचार हो, मैले यो कुरा गगन थापा भएर भनेको होइन, म त पार्टी केन्द्रीय समितिको निर्णय कार्यान्वयन गराउने महामन्त्री हो,’ थापाले भने, ‘नेपाली कांग्रेसका बारेमा कसैलाई भ्रम नरहोस्- कांग्रेसले केन्द्रीय समितिबाट जे निर्णय गरेको छ त्यो नै आधिकारिक र अन्तिम निर्णय हो।’ साभार:सेताेपाटी

Related posts

कलैया अस्पतालमा छड्के निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले भने : बिरामीको उपचारमा लापरबाही सह्य हुदैन

MadhesKhabar

दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गरीँदै

MadhesKhabar

पहाडबाट चुनाव जितेर देखाउने एक मधेसी युवाकाे अठाेट

MadhesKhabar

Leave a Comment