बारा,४मंसिर:बारा-जितपुरसिमरा उपमहानगरपालिका– २ सिमराचोकमा बुधबार भएको जेनजी युवा र एमालेका कार्यकर्ताबीच भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ ।बिहीबार साँझ प्रहरीले घटनामा संलग्न रहेकाे आराेपम जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अरबिन्द साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोष तामाङले साह पक्राउ परेको पुष्टि गरे । तामाङका अनुसार सिमरा झडप प्रकरणमा प्रहरीले अहिलेसम्म साहसहित तीनजनालाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले बिहीबार नै जीतपुरसिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षलाई पक्राउ गरि उनीहरु विरुद्ध ७ दिनको म्याद थप गरिसकेकाे छ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थप भएको जानकारी दिए ।
झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा जेनजी बाराका संयाेजक सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका थिए। घटनामा ८ व्यक्तिहरूको पनि संलग्नता रहेकाे भन्दै उपाध्यायले उनिहरुविरुद्ध प्रहरीमा बुधबार नै किटानी जाहेरी दिएका थिए।

