वीरगन्ज,८कात्तिकःहिन्दूहरूको महान पर्व छठको उपलक्ष्यमा वीरगन्ज कारागारमा रहेका महिला कैदी बन्दीहरुलाई नयाँ साडी वितरण गरिएको छ।ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुँगटा वेलफेयर सोसाइटी वीरगन्जले संयुक्त रुपमा कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई ७५ थान नयाँ साडी वितरण गरेको हो ।
रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष मुर्लीधर रुंगटाको प्रमुख आतिथ्यतामा भएको साडी वितरण कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले छठ पर्ब केवल धार्मिक आस्थाको विषय मात्र नभई मानवीय सहयोग र सहानुभूतिको पनि पर्ब भएको बताए । कारागारभित्र रहेका महिला दिदीबहिनीहरूसंग यो पर्वको खुशी बाँड्न पाउनु आँफुहरुका लागि गर्वको कुरा भएको उनले बताए।
रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष मुर्लीधर रुंगटाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर गर्दै आएको बताए । उनले रुंगटा वेलफेयर सोसाइटीले सदैव समाजका विपन्न, असहाय र सहयोग आवश्यक व्यक्तिहरूका लागि यस्ता मानवसेवामूलक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।
त्यसअवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल ,वीरगन्ज महानगरपालिकाको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदीन मियाँ लगायतकाकोपनि उपस्थिती थियो ।

