वीरगन्ज,२कात्तिकःवीरगन्ज महानगरसहित पर्सा जिल्लामा दुई महिनाअघि फैलिएको हैजाको महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका बारेमा आइतबार समीक्षा गरिएको छ ।
स्टार्ट फण्ड नेटवर्कको सहयोग तथा एमडीएमको सहकार्र्यमा आसमान नेपालले आइतबार वीरगन्जमा सरोकारवालाहरुसंग छलफल कार्यक्रम गरेर हैजा महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका बारेमा समीक्षा गरेको हो ।
कार्यक्रममा सहभागी सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले हैजाको संक्रमण देखिएको दुई महिना बितिसक्दापनि हैजाको श्रोत अझैसम्म पत्ता लाग्न नसक्नु दुखद भएको बताए । सुरुमा वीरगन्ज महानगर र त्यसपछि जिल्लाका अन्य केहि पालिकामा हैजाका बिरामी फेला परेका थिए ।
कार्यक्रममा सहभागीहरुले पर्सा जिल्लामा हैजा संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबाट भइरहेका जनचेतनामुलक कार्यक्रमहरुलाई अझै दुई तीन महिना निरन्तरता दिनुपर्ने सुझावपनि दिए । अहिलेपनि अस्पतालमा दिनहुँ झाडापखालाका सिकिस्त बिरामीहरु फाट्टफुट्ट रुपमा आउने क्रम जारी नै रहेकाले हैजा रोकथाम तथा नियन्त्रणका लागि सञ्चालित जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने उनिहरुको सुझाव थियो ।
कार्यक्रमममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलले आइतबारको समीक्षा बैठकमा सरोकारवाला संघसंस्थाका प्रमुखहरु नआई आफ्ना प्रतिनिधीलाई पठाएकोमा असन्तोष व्यक्त गरे ।
एनजीओसीसी पर्साका अध्यक्ष इब्राहिम देवानले हैजा महामारी रोकथाम तथा नियन्त्रणमा सरोकारवाला संघसंस्थाहरुबीच समन्वयको कमी देखिएको बताए ।स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले महामारी नियन्त्रणमा आसमान नेपालले समुदायस्तरमै ४५ दिनसम्म सञ्चालन गरेको जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी देखिएको बताए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह परागले महामारी अहिले नियन्त्रण उन्मुखको अवस्थामा रहेपनि अहिलेसम्म हैजाको श्रोत पत्ता लगाउन नसक्नु दुर्भाग्यपूर्ण भएको गुनासो गरे । अहिलेपनि महानगरका विभिन्न वडाहरुमा डी बोरिंगका पाइपहरु नालाभित्रै रहेको र त्यसले भविष्यमा फेरि हैजाको महामारी फैलने जोखिम कायमै रहेको उनले बताए ।
महामारी रोकथाम तथा नियन्त्रणमा वीरगन्ज महानगरपालिकाको भूमीकाप्रति प्रश्न गर्दै उनले वडा कार्यालयमा बजेट खर्चको अख्तियारी नदिदाँ महामारी नियन्त्रणमा आँफुहरुलाई काम गर्न सास्ती खेप्नु परेको दुखेसो सुनाए ।
कार्यक्रममा नारायणी अस्पतालकी नर्सींग प्रमुख श्रुती साह,वीरगन्ज महानगरपालिकाका तर्फबाट प्रतिज्ञा बैद्य, स्वास्थ्य शाखा प्रमुख राजु साह,वीरगन्ज महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली,वडा नम्बर २३ का वडाध्यक्ष अवधकिशोर कुशवाहा, आसमान नेपालका फोकल पर्सान धर्मेन्द्र चौरसिया, कार्यक्रम अधिकृत निरञ्जन यादव,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुधन नेपाल,वीरगन्ज महानगरपालिका वडा नम्बर १७,२०,२३ र २५ का स्वास्थ्य चौकी प्रमुख लगायतकाको सहभागिता रहेको थियो ।

