Madhes Khabar
राजनीति

नेतृत्व फेरे मात्रै एमालेको भविष्य सुरक्षित हुन्छ : अरबिन्द सिंह,केन्द्रिय सदस्य

वीरगन्ज,३१असोजःललितपुरमा जारी नेकपा (एमाले) को दशौँ केन्द्रीय कमिटी बैठकमा एमालेका केन्द्रिय सदस्य अरबिन्द सिंहले केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको रूपान्तरण र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहले पार्टीले पछिल्ला घटनाहरूमा वस्तुनिष्ठ विश्लेषण गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘भदौ २२ गतेको प्रतिवेदन २४ घण्टा नपुग्दै फेल भयो । सतही विश्लेषणले हामीलाई अझै गहिरो संकटमा पु¥याउँछ ।’

सिंहले भ्रष्टाचार र व्यभिचारमा मुछिएका नेताहरूलाई कारबाही नगरेर पार्टीले नैतिक बल गुमाएको उल्लेख गर्दै भने, ‘भ्रष्टाचारमा संलग्नहरू यहीँ छन् । छानबिन र कारबाहीबारे पार्टीले कहिले बोल्ने ?’
उनले अध्यक्षमाथि जनताको आक्रोश बढेको भन्दै जिम्मेवारी हस्तान्तरण नै पार्टीको भविष्य सुरक्षित गर्ने उपाय भएको बताए ।

उनले पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण गरेर पुनः सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिए ।

बैठकमा केन्द्रिय सदस्य अरबिन्द सिंहले बुदाँगत रुपमा राखेका धारणाहरु

१. भदौ २२ गतेको “जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको” राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घन्टा नपुग्दै फेल भयो । फेल भएको कार्यनीति बोकेर आगामी ५ वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरु वस्तुनिष्ट हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदै, सक्किने बाटोमा लैजान्छ।

२. पार्टी सत्ता र राज्य सत्ता हाम्रो हातमा भएको बेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउदैनौं ।

३. २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्त जस्ता अमुर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।

४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जन भन्दा बढी आरोपहरुमा आरोपितहरु हामी यहीँ छौँ । त्यसको छानबिन गरेर कार्वाही गर्ने बारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने ? कि बोल्दै नबोल्ने ?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकाले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।

६. युवा विद्यार्थी र आम जनता स्वतस्फूर्तरुपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरुका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ट ढंगले विश्लेषण गर्न जरुरी छ।

७. जनसंगठनहरु कसरी चल्दैछन भन्ने एउटा उदाहरण– टंक कार्कीदेखि समीक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी ?

८. चार वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा ४–५ जना बाहेक ३ मिनेट समेत बोल्न नपाउँदा कुनै हिनताबोध र ग्लानी नहुने तपाईं पदाधिकारीहरुले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन ।

. दुई–दुई पटक हामी आफैंले संसद विघटन गरेकोले संसद पुनस्र्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हासोको पात्र मात्रै हुन्छौं । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

१०. विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।

Related posts

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

MadhesKhabar

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

MadhesKhabar

अदालतबाट फैसला भएकाे २४ घण्टा भित्र उपेन्द्र यादवकाे पत्ता साफ हुन्छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment