बिर्तामोड,३१जेष्ठ:स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भको पत्ता साफ हुने बताउनु भएको छ ।
बुधबार झापामा जनता समाजवादी पार्टीले (जसपा) जिल्ला कार्यसमिति झापाद्वारा आयोजित जिल्ला भेला तथा रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका उपमहासचिव समेत रहेका यादवले सङ्घीयताका विषयमा उपेन्द्र यादवले खुलेर बोल्न नसकेको र कार्यकर्ताहरूसँग योजना माग्दा कमिसन बिना काम नगरेको हुँदा उनलाई आफूहरू छोड्न बाध्य भएको बताए ।
उपेन्द्र यादवले कार्यकर्तामाथि गरेको पीडा आफूले बुझेको बताउँदै यादवले भने, ‘यो दम्भ सधैँका लागि नासिएर जान्छ ।उपेन्द्रजीले हामीलाई १७ वर्षसम्म झुक्क्याएर राख्नुभयो । प्रत्येक निर्णयहरू एकलौटी रूपमा लिँदै हाम्रो भवनमा ठेस पुर्याइरहनुभयो । असह्य भएपछि हामीले उहाँलाई छाडेका हौँ ।’
मन्त्री यादवका अनुसार उपेन्द्र यादवले देशभरमा निर्वाचित जनप्रतिनिधिहरूसँग कमिसन माग्ने, आफ्नो नियन्त्रणमा राखेर पुतली जस्तो नचाउँदै मानसिक रूपमा दुर्व्यवहार गर्नुहुन्थ्यो । ‘वीरगन्जका वर्तमान मेयरदेखि पूर्व मुख्यमन्त्रीसम्मबाट उपेन्द्रजीले कमिसन लिएको मसँग प्रमाण छ । समय आए सार्वजनिक गर्छु,’ उनले थपे ।
अशोक राईको शालीन व्यवहारप्रति आफूहरू आकर्षित भएर उनको नेतृत्वमा पार्टी गठन गरेको मन्त्री यादवले बताउँदै भने, ‘अशोक राईजीको शालीन व्यक्तित्व, सङ्घीयता स्थापनाका लागि उहाँको योगदान र विभेदमा परिएकाहरू अधिकार प्राप्तिका लागि उहाँ सङ्घर्षबाट हामीहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेका हौँ । म विश्वस्त छु उहाँले उपेन्द्रजी जस्तो पदको दुरुपयोग गरेर मुद्दासँग धोका गर्दै राष्ट्रलाई क्षति पुर्याउने काम गर्नु हुँदैन ।’
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता रणधोज कन्दङवाले सङ्घीयता भित्रको पहिचान झुन्ड झुन्डबाट प्राप्त नहुने बताउँदै उपेन्द्र यादवको भरमा परेर पीडित नबन्न सबैलाई आह्वान गरे । त्यसैगरी जसपा नेता आङ् काजी शेर्पाले जनजाती र मधेस मुद्दा एउटै भएको बताए ।

