वीरगन्ज,२९असाेज:जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरीले पछिल्लो समय बिचाैलियाहरुलाई प्रवेशमा कडाइ गरेपछि विभिन्न शाखामा सेवाग्राहीहरूको संख्यामा कमी आएको पाइएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जिल्लाको जिम्मेवारी सम्हालेदेखि प्रहरी कार्यालयमा कडाइ गरिएको छ ।
गत असोज ७ मा जिल्लाको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक पाठकले कार्यालयमा पीडितभन्दा बाहिरका मान्छे(बिचाैलिया)लाई प्रहरी कार्यालयमा ल्याउन रोक लगाएपछि भिडभाडमा कमी देखिएको हो ।
प्रहरी उपरीक्षक पाठकले कुनै पनि मुद्दामा पीडित भएकाहरूभन्दा बाहिरका व्यक्तिलाई प्रहरी कार्यालयमा नल्याउने गरी काम गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा गेटमा प्रवेश गर्नेबित्तिकै सेवाग्राहीको नाम, ठेगाना र काम प्रयोजनको विवरण उल्लेख गराउने भएपछि कामभन्दा बाहिरका सेवाग्राहीको संख्यामा कमी आएको हो ।
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयमा केही सातादेखि कामभन्दा बाहिरका सेवाग्राहीको संख्यामा कमी आएको अवस्था छ ।
विगतमा विभिन्न शाखाका प्रहरी अधिकारीहरूले पनि बिचौलियाहरूले अनावश्यक रूपमा भिडभाड गरेर सहज रूपमा सेवा प्रवाह गर्न समस्या ल्याउँदै आएको प्रहरी नायब उपरीक्षक लम्साल बताउँछन् ।
पहिले जिल्लाका मुद्दा तथा अपराध शाखा, उजुरी शाखा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षमा पीडितभन्दा बाहिरका व्यक्तिको भिडभाड बढी हुने गरेको उनको भनाइ छ ।तिवारी यादव/नयाँपत्रिका

