वीरगन्ज,१०भदौं :पर्साको सदरमुकाम वीरगन्ज महानरमा केहिदिन यता झाडापखाला र हैजाको महामारी फैलिएपछि त्यसबाट जोगिन जिराभवानी गाउँपालिकाले पूर्वतयारी थालेको छ ।
गाउँपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले वडा नमबर ४ सुपौलीस्थित स्वास्थ्य चौकीमा झाडापखाला तथा हैजा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जसमा उपचारका लागि आवश्यक औषधि, जनशक्ति तथा अन्य आधारभूत सुविधाको व्यवस्था मिलाउने काम अघि बढाइएको स्वास्थ्य शाखा प्रमुख अजय चौधरीले जानकारी दिए ।
यस्तै बैठकले पालिकाभर कार्यरत स्वास्थ्यकर्मीलाई अति आवश्यक कार्यबाहेक बिदा नदिने,सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वडा वडामा परिचालन गर्ने निर्णयपनि गरेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जानकारी दिए । हरेक वडाका घरघरमै पुगेर नागरिकलाई झाडपखाला,हैजा , डेंगु लगायतका सरुवाजन्य रोगबाट जोगिन अपनाउनुपर्ने सवाधानी र उपायहरु बारे प्रचार–प्रसार गरिने उनले बताए ।
गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्षहरु रामशरण ख्वास, महादेव महतो थारु, स्वास्थ्यकर्मी, शसस्त्र प्रहरी,नेपाल प्रहरी लगायतकाकोपनि सहभागिता थियो ।

