वीरगन्ज,:९ भदौं :वीरगन्जमा झाडा पखाला र हैजाको संक्रमण डी बोरिङको पानी र नेपाल खानेपानी संस्थानद्वारा वितरित पानीबाट नफैलिएको पुष्टि भएको छ ।
तर सोमबार केहि अनलाइनल पोर्टलले संस्थानको पाइप फुटेर त्यसमा नालाको दुषित पानी मिसिएर घरघरमा आपुर्ति भएका कारण त्यसैबाट हैजा फैलिएको दाबी सहितको अपुष्ट सामचार प्रकाशन गरेका थिए ।
तर खानेपानी मन्त्रालय अन्तर्गतको पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरले सोमबार साँझ सार्वजनिक गरेको परीक्षण रिपोर्टले भने वीरगन्जमा संस्थान वा डीप बोरिङको पानीबाट झाडापखाला र हैजाको संक्रमण नफैलिएको पुष्टि गरेको छ ।
हैजाले सबैभन्दा बढी प्रभावित वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ बाट सस्ंथान र डीप बोरिङको धाराको पानीको नमूना संकलन गरेर परीक्षणका लागि गत शनिबार पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरमा पठाइएको थियो ।
उक्त पानीको परीक्षण गर्दा त्यसमा झाडापखाला र हैजाको संक्रमण हुने इकोलीफर्म नामक जीवाणु र तथा दिसामा भेटिने फिकल कोलिफर्म नामक जीवाणु नभेटिएको प्रयोगशालाका असिस्टेन्ट केमिस्ट मनोजकुमार अधिकारीले सोमबार साँझ सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
संक्रमणबाट बढी प्रभावित गत शनिबार वडा नम्बर १२ र १३ का शंकास्पद विभिन्न १२ स्थानबाट खानेपानी संस्थान र डीप बोरीङका धाराबाट पानीको नमूना संकलन गरेर परीक्षणका लागि जनकपुरको पानी गुणस्तर परीक्षण प्रयोगशाला र काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको थियो ।
त्यसमध्ये जनकपुरको प्रयोगशालाबाट सोमबार साँझ आएको रिपोर्टमा झाडापखाला र हैजाको संक्रमण फैलाउने जीवाणु इकोलिफर्म र दिशामा भेटिने फिकल कोलिफर्म नामक जीवाणु मध्ये कुनैपनि नभेटिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
प्रयोगशालाको रिपोर्ट अध्ययनगरेपछि उनले भने,‘ जनकपुरको ल्याबमा गरिएको पानी परीक्षणबाट वीरगन्जमा संस्थान वा डीप् बोरिङको पानीबाट झाडापखाला र हैजाको संक्रमण फैलिएको पुष्टि हुन सकेन । अर्थात पानीमा कुनै गडबडी रहेको देखिएन । अब काठमाण्डौंको ल्याबको रिपोर्ट के आउँछ ? त्यो हेर्नुपर्छ ।’


