Madhes Khabar
पर्यटन

आठ महिनामा चुरियामाई सुरुङ हेर्न पुगे ३ हजारभन्दा बढी पर्यटक

हेटौँडा, ७ भदौ :दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको संख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले उक्त सुरुङमार्ग अवलोकन गरेका छन् ।

सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको संख्या बाक्लो हुने उनको भनाइ छ ।

लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल चार करोड ५७ लाख रुपैयाँमा बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट एक लाख १७ हजार राजस्व संकलन गरिएको बताए । चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत २० हजार ५५० रुपैयाँ राजस्व संकलन भएको छ ।सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १००, विद्यार्थीलाई प्रतिव्यक्ति २० रुपैयाँ निर्धारण गरिएको छ ।

मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जीर्णाेद्धार सुरु भएको थियो ।साभार :अनलाइनखबर

 

Related posts

पर्यटन प्रबर्द्धनमा फड्काे मार्दै ठोरी :स्काइ वाक भ्यू टावर पनि सञ्चालन

MadhesKhabar

निजगढ विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ : पर्यटनमन्त्री श्रेष्ठ

MadhesKhabar

अबको चार वर्षमा निजगढ विमानस्थल बनिसक्छ : अर्थमन्त्री महत

MadhesKhabar

Leave a Comment