वीरगन्ज,१९साउनःवीरगन्जमा कटु्वा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साकै बिन्दवासिनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीभाठा घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा स्थित ससुरालीघरमा बस्दै आएका ४० वर्षीय साहेब खाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा गाँउमा खाँले हतियार लिएर स्थानीयबासीलाई डरत्रास देखाउँदै घुमिरहेको सूचना पाएर ईलाका प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरक्षिक निरोज चौलागाईंको नेततृत्वमा खटिएको टोलीले उनलाई एक थान कटुवा पेस्तोलसहित आइतबार बेलुकी पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । इनर्वा गाँउमा खाँलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्र्दा उक्त कटुवा पेस्तोल बरामद भएको उनले बताए ।
पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए।

