वीरगन्ज,९साउनः पर्साको ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा करिब १ हजारधुरी लाभान्वित हुने गरी निर्माणसम्पन्न निर्मलबस्ती खानेपानी आयोजनाको शुुक्रबार उद्घाटन गरिएको छ ।
निर्मलबस्तीमा २ लाख २५ हजार लिट क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस,पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) लगायतका संरचना निर्मित निर्मलबस्ती खानेपानी आयोजनाको संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
उक्त आयोजनाबाट वितरण सुरु गरिएको खानेपानी धाराको पानी आँफै पिएर मन्त्री यादवले आयोजनाको उद्घाटन गरेको ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।
उद्घाटनपछि ठोरी गाँउपालिका कार्यालयद्वारा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले निर्मलबस्ती खानेपानी आयोजना सञ्चालनमा आएपछि अब स्थानीयबासीले नियमित, सुरक्षित र भरपर्दो खानेपानीको सेवा पाउने अपेक्षा गरिएको बताए। विगत लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयबासीका लागि यो आयोजना एक महत्वपूर्ण उपलब्धि बनेको उनले बताए। निर्मलबस्ती खानेपानी आयोजनाबाट १ हजार घरधुरीका २ हजार १६५ जना नागरिक लाभान्वित हुनेपनि उनले बताए ।
कार्यक्रममा मन्त्री यादवले भने,‘सरकार गाउँगाउँसम्म स्वच्छ पानी पु¥याउन कटिबद्ध छ। विकासको आधार संरचना नै खानेपानी हो । यो आयोजना त्यसतर्फको एक महत्वपूर्ण पाइला हो।’
तराई–मधेसका जिल्लाहरूले अहिले इतिहासकै एक गम्भीर जलसंकटको सामना गरिरहेको उनले बताए ।यस्तो विकराल समयमै पनि नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार अहोरात्र खटिरहेको उनले बताए । उनले भने,‘ मधेसको खानेपानी समस्या चाडै समाधान हुनेमा म आम नागरिकमा बिश्वास दिलाउन चाहन्छु ।’
खानेपानी मन्त्रालयकै विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि उनले बताए।
कार्यक्रममा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गोकुलीकुमारी रेग्मी,भूमी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद,निर्मलवस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी ,सदस्य, वडाध्यक्ष, सजपाका नेताहरु लगायतकाकोपनि सहभागिता थियो ।

