
जनकपुर,६साउनःसर्लाहीको मिथिला डेन्टल क्लिनिकमा मधेस सरकारले ताल्चा लगाएको थियो । मधेस सरकारले चलाएको ‘अप्रेसन अस्पताल’ अभियानअन्तर्गत यो अस्पतालमा ताल्चा लगाइएको थियो ।
स्वास्थ्य मापदण्डविपरीत सञ्चालन रहेको भन्दै मधेस सरकारले उक्त क्लिनिक बन्द गराएको थियो । तर अस्पतालको अनुगमन अभियान रोकिएपछि यो सञ्चालनमा आइसकेको छ । यस क्लिनिक बन्द गरिएको केही सातामै पुनः सञ्चालनमा ल्याइएको अस्पतालकी अमृता यादवले बताइन् ।
उनका अनुसार सबै कागजात दुरुस्त देखिएपछि अस्पतालबाट सेवा सुरु गर्ने अनुमति मिलेको हो । अहिले आफ्नो अस्पतालमा कुनै रोकावट नभएको उनको प्रतिक्रिया छ ।
सर्लाहीको मलंगवाकै देवश्री पोलिक्लिनिक प्रालि पनि बन्द गराइएको थियो । र अहिले सबै प्रक्रिया पूरा गराएर सञ्चालनमा ल्याइएको सञ्चालक सोनेलाल यादव बताउँछन् । कस्तो प्रक्रिया बाँकी थियो भन्ने रातोपाटीको प्रश्नमा उनले मिडियालाई सबै कुरा बताइरहनुपर्ने प्रतिक्रिया दिए ।
त्यस्तै वीरगञ्जको नेपाल इन्डो हस्पिटल एन्ड आइ केयर सेन्टर प्रालि पनि मापदण्ड नपुगेको भन्दै बन्द गराइएको थियो । मापदण्ड पूरा गरेर सञ्चालन गर्न भनिए पनि यो अस्पताल अहिले पुरानै तरिकाले सञ्चालनमा ल्याइएको छ । सबै कागजात जाँच गराएर प्रदेश सरकारको सुझावअनुसार अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।
मधेस प्रदेश सरकारले केही महिनाअघि अवैध तथा मापदण्डविपरीत सञ्चालित अस्पतालहरूलाई अनुगमन गरी कारबाही गरेको थियो । तर त्यसरी बन्द गराइएका अस्पतालहरू निर्बाध रूपमा धमाधम सञ्चालनमा आउन लागेका छन् ।
कसैले स्थानीय तहको अनुमित त कोहीले प्रदेश सरकारकै मिलोमतोमा सेवा सुरु गरेका छन् । धेरैजो भने स्थानीय तहको अनुमतिले सञ्चालनमा आएका स्वास्थ्य मन्त्रालयबाट अनुगमनमा खटेका सन्तोष ठाकुर बताउँछन् । स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै अस्पतालहरू जबरजस्ती खोल्न लगाएको उनी आरोप लगाउँछन् ।
बाराको कलैया, सर्लाहीको लालबन्दी, मलंगवा, मिर्चैयासहित विभिन्न ठाउँमा बन्द गराइएका निजी अस्पतालहरू खुलेका हुन् ।
कति अस्पताल बन्द थिए ?
मधेस प्रदेशका आठै जिल्लामा पुगेर मधेस मुख्यमन्त्री सतिश सिंहले निजी अस्पतालहरूमाथि एक्सन लिएका थिए । अनुगमनका क्रममा कतिपय अस्पताल दर्ताविनै सञ्चालित भएका पाइएका थिए भने कतिपयले मापदण्ड पूरा नगरेको पाइएको थियो ।
जनताको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको भन्दै मुख्यमन्त्री सिंहले निजी अस्पतालको ‘सर्च अप्रेसन’ सुरु गरेका थिए ।
प्रदेश सरकारले करिब सात महिना अवैध अस्पतालहरूको गतिविधिबारे स्थलगत अनुगमन चलाएको थियो । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत कात्तिक २५ गते चलाइएकोसर्च अप्रेसन अभियान वैशाखसम्म निरन्तर थियो ।
प्रदेश सरकारले यसरी जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा अनुगमन गर्न थालेपछि सरकारको यो अभियानले चौतर्फी चर्चा बटुलेको मात्रै थिएन, चारैतिर प्रदेश सरकारको वाहवाही भइरहेको थियो । अभियानले मुख्यमन्त्री सिंहको पनि चर्चा भएको थियो ।
यो अवधिमा प्रदेश सरकारले १३० भन्दा बढी अस्पतालहरू मापदण्डविपरीत सञ्चालित रहेको भेट्टाएको थियो । त्यसपछि उक्त अस्पताललाई जनताको स्वास्थ्यसंग खेलवाड नगर्न भन्दै तत्कालै बन्द गर्न निर्देशन दिइएको थियो ।
प्रदेश सरकारले त्यसबखत खासगरी सञ्चालन अनुमति, स्वास्थ्य नियमावली, निजी अस्पताल सञ्चालनको मापदण्डको पालना कति भएको छ, सबैको अनुगमन गरिरहेको थियो ।
प्रदेश सरकारले यसरी जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा अनुगमन गर्न थालेपछि सरकारको यो अभियानले चौतर्फी चर्चा बटुलेको मात्रै थिएन, चारैतिर प्रदेश सरकारको वाहवाही भइरहेको थियो । अभियानले मुख्यमन्त्री सिंहको पनि चर्चा भएको थियो ।
प्रदेश सरकारले आठै जिल्लामा निजी अस्पतालहरूको अनुगमन गरेको थियो । जसअनुसार सिरहामा १३, सर्लाहीमा ५२, स्पतरीमा ८, रौतहटमा २१, महोत्तरीमा ७, पर्सामा १, धनुषामा २२ र बारामा ९ अस्पताल बन्द गरिएको थियो ।
तर कसरी खुले बन्द अस्पताल ?
यसरी प्रदेश सरकारले बन्द गरेको अस्पतालहमध्ये अधिकांश प्रदेशमातहत थिए । अर्थात् प्रदेश सरकारले नवीकरण गर्नुपर्ने अस्पतालहरू मापदण्डविपरीत थिए ।
२५ शय्याभन्दा माथिको अधिकांश अस्पताल बन्द गरिए पनि प्रदेश सरकारले स्थानीय तहलाई हवाला दिँदै आफू पन्छिन खाजेको आरोप लागिरहेको छ ।
नाम नराख्ने सर्तमा सर्लाही मलंगवाका निजी अस्पतालका एक सञ्चालकले भने, ‘प्रदेश सरकारले राखेको बिचौलियामार्फत सेटिङ गर्छन्, अनि बन्द अस्पतालहरू खुल्छन् ।’उनका अनुसार एउटा अस्पतालले कम्तीमा पाँच लाख रुपैयाँ बिचौलियामार्फत बुझाएपछि मात्रै खोल्ने अनुमति दिइन्छ ।
उनी थप्छन्, ‘अस्ति भर्खरै प्रदेश सरकारले अस्पताल बन्द गराएको थियो । त्यो भने करिब अढाइ महिना पुग्न लाग्यो । अनि बन्द गराउँदा मापदण्ड नै नपुगेका अस्पतालहरू कसरी एकाएक मापदण्ड पूरा गरे ? त्यो पुनः जाँच गरियो भने त्यसको वास्तविकता बाहिर आइहाल्छ नि ।’उनका अनुसार यो सबै खेल सेटिङमा भइरहेको छ । जहाँ स्वास्थ्य मन्त्रालयल प्रत्यक्ष जोडिएको उनको बुझाइ छ ।
तर प्रदेश सरकार भने यो आरोप हर हालतमा स्विकार्न तयार छैन । स्वास्थ्य मन्त्री शत्रुघ्न महतो कोइरीका अनुसार केही निजी अस्पतालले कागजी प्रक्रिया पूरा गरेपछि सञ्चालनको अनुमति दिइएको थियो ।तर उनका अनुसार त्यसरी प्रक्रिया पूरा गर्ने बन्द भएका अस्पताल प्रदेशभरि आठ वटा मात्र छन् ।साभारःरातोपाटी

