वीरगन्ज,२५असारःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जमा अहिले देखिएको खानेपानीको संकट समाधानका लागि आँफु लागिपरेको बताएका छन् ।
बुधबार वीरगन्जमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,विभिन्न वडाका वडाध्यक्ष ,कर्मचारी तथा नेपाल खानेपानी संस्थान पर्सा र बाराका प्रमुखलाई संगै रााखेर छलफल गरेका मन्त्री यादवले भने,‘ यहाँका जनताले भोगिरहेको पानीको अभावले म निक्कै चिन्तित् छु । खानेपानी नै नपाएर आकुलव्याकुल बनेका जनताको पीडा मैले स्वंय महसुस गरिरहेको छु । तसर्थ पानीको समस्याको समाधान गरेरै छाड्छु । यो मेरो प्रतिबद्धता हो ।’
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले जिल्लाको प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्रीको हैसियतले वीरगन्जसहित तराई–मधेस क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न तत्काल पहल गरिरहेकोपनि बताए ।
बैठकमा वीरगन्जमा अहिले उत्पन्न खानेपानीको समस्या समाधानका लागि घनिभुत छलफल भएको जानकारीपनि उनले दिए ।
खानेपानीको संकट विशेष गरी जलवायु परिवर्तनका कारण तराई–मधेस क्षेत्रमा परेको खडेरीसंग जोडिएको भन्दै उनले खानेपानीको समस्याको स्थलगत अध्ययन एवं आवश्यक निर्णय लिनकै लागि आँफु मंगलबार साँझ काठमाडौंबाट वीरगन्ज आइपुगेको बताए ।उनले भने,‘ जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिनेछैन । सरकारको तर्फबाट तिब्र पहल जारी छ ।’
बैठकअघि बुधबार बिहान मन्त्री यादवले खानेपानीको संकट भएका वीरगन्जका विभिन्न वडाहरुमा पुगेर स्थलगत निरीक्षणपनि गरेका थिए । त्यसक्रममा उनले पानीको अभावले पिडित जनतासंग छलफलपनि गरेका थिए ।
मन्त्री यादवका अनुसार,खानेपानी समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सालगायत जिल्लासहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा हालसम्म २ सय ३७ भन्दा बढीको संख्यामा डिपबोरिङ गाडि सकिएको छ ।आगामी आर्थिक वर्षको सुरुआतसँगै यसकार्यलाई अझ द्रुतगतिमा अगाडि बढाइने बताउँदै यादवले यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहयोगमा ४ अर्ब ५० करोड लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाइ छ । “यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दछु । सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने छ”, उनले भने । प्रदेश र स्थानीय सरकार, खानेपानी र सरसफाइ क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह गरे ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने बताए ।

