वीरगन्ज,२४असार:प्रतिनिधि सभा सदस्य प्रभु हजराले वीरगन्जसहित पर्सा जिल्लाभर चापाकलहरु सुकेर खानेपानीको हाहाकार भइरहदापनि सरकारकाे ध्यान पुग्न नसकेकाेमा आक्राेश व्यक्त गरेका छन्।
मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा हजराले भने,`म आज यो संसदको मञ्चमार्फत पर्सा जिल्लाका लाखौं जनताको तर्फबाट एक गम्भीर माग राख्न चाहन्छु। त्यो हो — तराई क्षेत्रमा, विशेषगरी पर्सा जिल्लामा फैलँदो खानेपानीको चरम अभाव।हामी २१औँ शताब्दीमा प्रवेश गरिसकेका छौँ। तर पर्सा जिल्लाका नागरिकहरू आज पनि पानीको लागि बिहानैदेखि घण्टौँसम्म लाइनमा बस्न बाध्य छन्। एक गाग्री पानीका लागि बुढाबुढी, महिला, बालबालिका टाढा–टाढा धाउँदै हिंड्नुपर्ने अवस्था छ। यो अवस्था कहिले अन्त्य हुन्छ?´
उनले थपे,`झन् दुखद त के छ भने — दैनिक सयौँ गुनासाहरू, फोनहरू, निवेदनहरू स्थानीय तह, वडा कार्यालय, नगरपालिकादेखि सम्बन्धित मन्त्रालयसम्म पुगिरहेका छन्, तर ती आवाजहरू आजसम्म पनि उचित रूपमा सुनिएको छैन। केही वडाहरूले डीप बोरिङ गरेका छन्, तर यो अस्थायी उपाय मात्र हो। भूगर्भीय पानीको अत्यधिक दोहनले दीर्घकालीन असर पुर्याउने निश्चित छ।´
भावुक हुँदै हजराले भने,`आज पानी नपाएर आमाहरु रुँदै छन्, बालकहरु तिर्खाएर बसेका छन्, वृद्धहरू पानी खोज्दै थाकिसकेका छन्। यो दृश्य केवल म कल्पना गरेर नभई, आफ्नै क्षेत्रको वास्तविकता बोलेको छु।´
प्रधानमन्त्री र खानेपानीमन्त्रीसंग आग्रह गर्दै उनले भने,` यो अब योजनाको फाइलमा सीमित विषय होइन, यो जनताको जीउ–धन, स्वास्थ, सम्मान र अस्तित्वसँग जोडिएको विषय हो। कृपया अब ढिलाइ नगरियोस्। पाइपलाइन विस्तार गरियोस्, वर्षा पानी संकलन र भण्डारण प्रणाली जडान गरियोस्, दीर्घकालीन जलस्रोत योजना तुरुन्त लागू गरियोस्।´
आँफुहरु जनताको प्रतिनिधि भएकाले जनताको आवाज संसदमा उठाउनु आँफुहरुकाे कर्तव्य रहेकाे उनले बताए ।उनले भने,`जनताको प्यास अब नजरअन्दाज नगरियोस्। पानी उनीहरूको हक हो,त्यो हक सुनिश्चित गरियोस्।´

