Madhes Khabar
स्वास्थ्य

सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न वीरगन्जका सराेकारवालाहरुकाे जोड

वीरगन्ज,११असार:वीरगन्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सुरक्षित गर्भपतनलाई अपराधको सट्टा स्वास्थ्य अधिकारको रूपमा स्वीकार गर्नुपर्ने र यसको पहुँचलाई ग्रामीण तथा सहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

गैरनाफामूलक संस्था ‘युवा’ले सञ्चालन गरेको ‘यूथ एक्सेस परियोजना’अन्तर्गत ‘सुरक्षित गर्भपतन स्वास्थ्य अधिकार हो, अपराध हैन’ भन्ने मूल नाराका साथ वीरगन्जमा आयोजित कार्यक्रम बुधबार सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अधिवक्ता विद्या कटुवालले नेपालमा सुरक्षित गर्भपतनसम्बन्धी कानुनी प्रावधानहरूको चर्चा गर्दै कानुन र व्यवहारबिचको अन्तरलाई कम गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, “नेपालको संविधान र मुलुकी अपराध संहिता २०७४ ले १२ हप्तासम्मको गर्भ र विशेष अवस्थामा (जस्तै बलात्कार, गर्भवतीको स्वास्थ्य जोखिम, भ्रूणमा गम्भीर असामान्यता) २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर, सामाजिक लाञ्छना, सूचनाको कमी, र तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावले सेवाको पहुँच सीमित छ ।”

अधिवक्ता कटुवालले ग्रामीण क्षेत्रमा जनचेतनाको कमी र स्वास्थ्य सेवाको अपर्याप्तताले सुरक्षित गर्भपतनको अधिकार कार्यान्वयनमा चुनौती थपिएको उल्लेख गरिन् ।

वीरगञ्ज महानगरपालिकाकी सुरक्षित गर्भपतन सेवा फोकल पर्सन इन्दिरा लोहनीले महानगरले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन् । उनले हाल महानगर क्षेत्रका पाँच वटा सूचीकृत स्वास्थ्य संस्थामार्फत तालिमप्राप्त स्वास्थ्यकर्मीहरूद्वारा सेवा प्रदान भइरहेको बताइन् । “कानुनी प्रावधानअनुसार तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र यो सेवा दिन सक्छन्, जसले गर्दा सेवा विस्तारमा केही कठिनाइ छ । तर, हामीले स्थानीय स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गर्दै सेवालाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँ,” उनले थपिन् । उनले सेवाग्राहीको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिइएको पनि उल्लेख गरिन् ।

त्यस्तै मेरी सर्भिस सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवामा गोपनीयताको महत्त्वमाथि जोड दिँदै आफ्नो संस्थाले यो पक्षलाई उच्च प्राथमिकता दिएको बताए । “हामीले सेवाग्राहीको व्यक्तिगत जानकारीको गोपनीयता कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौँ,” उनले भने ।

कार्यक्रममा पूर्व यूथ च्याम्पियन नेहा पटेलले ‘यूथ एक्सेस परियोजना’मार्फत युवाहरूमा सुरक्षित गर्भपतनबारे चेतना फैलिएको अनुभव साझा गरिन् । “हामीले स्कूल, कलेज र समुदायमा गएर युवाहरूलाई यो विषयमा खुला छलफल गर्न प्रेरित गरेका छौँ । यसले सामाजिक लाञ्छनालाई कम गर्न सहयोग पुर्‍याएको छ,” उनले भनिन् ।

कार्यक्रममा यूथ च्याम्पियनहरूले परियोजनाको उद्देश्य र उपलब्धिहरूबारे प्रकाश पारे । यूथ च्याम्पियन राजन झाले स्वागत मन्तव्य व्यक्त गर्दै परियोजनाले युवाहरूलाई नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिमा सहयोग पुर्‍याएको बताए । यूथ च्याम्पियन अंकृत कर्णले परियोजनाले हालसम्म गरेका गतिविधि र यसको प्रभावबारे जानकारी दिए । त्यस्तै, यूथ च्याम्पियन सुस्मिता चालिसेले परियोजनामा सहभागी भएपछि आफूमा आएको आत्मविश्वास र ज्ञानको अनुभव साझा गरिन् । उनले भनेकी छन्, “यो परियोजनाले मलाई सुरक्षित गर्भपतनको महत्त्व र यससँग जोडिएको सामाजिक मुद्दाहरू बुझ्न धेरै सहयोग गरेको छ ।”

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए भने परियोजनाका वीरगन्ज संयोजक आशु कुमार सर्राफले समग्र सञ्चालनको जिम्मेवारी सम्हालेका थिए । प्यानल छलफलमा सहभागीहरूले सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न सामुदायिक तहमा थप जागरूकता र सरकारको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकाले ।

‘युवा’ले विगत चार वर्षदेखि वीरगञ्जमा ‘यूथ एक्सेस परियोजना’ सञ्चालन गर्दै आएको छ । चार वर्षको अवधिमा परियोजनाले ४० जना यूथ च्याम्पियन र एक सय भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । युवाका कार्यसमिति सदस्य सदिक सिद्दिकीले परियोजनाले समुदायमा सुरक्षित गर्भपतनबारे चेतना फैलाउन र सामाजिक लाञ्छनालाई कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले भने, “हामीले स्थानीय युवाहरूलाई नेतृत्व प्रदान गर्न सक्षम बनाएका छौँ, र आगामी दिनमा यो परियोजनालाई थप विस्तार गरी ग्रामीण क्षेत्रमा पनि सेवा पुर्‍याउने योजना छ ।”

कार्यक्रमले सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न र यसको पहुँच विस्तार गर्न सामुदायिक, कानुनी, र प्रशासनिक स्तरमा सहकार्यको आवश्यकता रहेको स्पष्ट पारेको छ । वीरगञ्जमा ‘युवा’को पहल र स्थानीय सरोकारवालाहरूको सक्रियताले सुरक्षित गर्भपतनको मुद्दालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

Related posts

पर्साको डोकैलामा निःशुल्क स्वास्थ्य शिविर :ग्रामीण भेगका १०० बढी बिरामीले लिए लाभ

MadhesKhabar

जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार

MadhesKhabar

कर्मचारी विवादले सिम्रौनगढ अस्पताल अनिश्चितकालका लागि बन्द

MadhesKhabar

Leave a Comment