Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

वीरगन्ज,२३जेठःवीरगन्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय आउँदो साउनदेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिने भएको छ । अहिले वीरगन्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी (आइसिपी)छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगन्ज भन्सारमा गाभिने जानकारी दिए । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल्वे लिक निर्माण गरेको छ । सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि तीन अर्ब ३३ करोड रुपैयाँमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आउँदो असार मसान्तमा समाप्त हुँदैछ । वीरगन्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।रासस

Related posts

राप्रपा अध्यक्ष लिङदेन भन्छन् : नेपाल धर्म निरपेक्ष राष्ट्र हुनुमा हिन्दुहरु पनि दोषी छन्

MadhesKhabar

प्रदीप यादवलाई जिताउन एमाले नेता कार्यकर्ता पनि एकजुट भएर लागे

MadhesKhabar

सब–इन्जिनियर यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

MadhesKhabar

Leave a Comment