बारा,२९ वैशाखः खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।
बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा–महेशपुर खानेपानी आयोजनाको सोमबार शिलान्यास गदर्दै मन्त्री यादवले देशभरीका खानेपानीका समस्या समाधानका लागि आफु सहित सिङ्गो मन्त्रालयको टिमले काम गरीरहेको बताए ।उनले भने, “हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ ।”
आफुले मन्त्रालय सम्हाले पछि देशका विभिन्न स्थानमा रोकिएका एवं अधुरा रहेका खानेपानी आयोजनाहरु सञ्चालनमा आएको र अन्य आयोजना निर्माणको चरणमा रहेको जानकारी उनले दिए। पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागिपरेको मन्त्री यादवले उल्लेख गरे ।
उनले भने, “हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेस सहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु¥याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ ।”
नागरिकले अनुभूति गर्न सक्ने खानेपानी सेवामा सुधार ल्याउनेतर्फ सरकार प्रतिबद्ध रहेकोसमेत मन्त्री यादवले बताए।्
कलैया उपमहानगरपालिका अन्तर्गतका वडा नम्बर १५, २६ र २७ मा सञ्चालन हुने सिस्वा–महेशपुर खानेपानी आयोजना यहाँका नागरिकहरूको खानेपानीका क्षेत्रमा दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको समेत उनले बताए । उनले भने, “हामी सबै मिलेर ‘स्वच्छ पानी, स्वस्थ जीवन’ को अभियानलाई सार्थक बनाऔँ । महेशपुरको समृद्धि हाम्रो साझा यात्रा हो ।”
तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको र विशेषगरी तराई–मधेशका बारा, पर्सा, रौतहट गायतका अन्य जिल्लाहरुमा पनि पछिल्लो समय खानेपानीको गम्भीर समस्या देखिएकाले ती क्षेत्रमा खानेपानीका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिन थालिएको मन्त्री यादवको भनाई छ ।
“जलवायु परिर्वनका कारण तराई–मधेशमा खानेपानीको समस्या चुलिँदै गएको छ । यो निकै ठूलो समस्याको विषय बनेकाले त्यसको समाधान गर्नलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु भएको छ,” उनले भने ।
सोमबार शिलान्यास गरिएको सिस्वा–महेशपुर खानेपानी आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगन्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।
उनका अनुसार यस आयोजनाले यहाँका नागरिकको खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्ने बिश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, बाराका सांसदहरु ज्वालाकुमारी साह, रामबावु यादव, प्रदेश सांसद महमद समिर मियाँ,सवितदास श्रेष्ठ, वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सोनार,कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, उपमेयर रोसन प्रविन, सिस्वा महेशपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुभाषप्रसाद यादव, जसपा पर्सा जिल्ला अध्यक्ष सिगासान साह तेली लगायतकाको सहभागिता थियो ।