वीरगन्ज,१०बैशाखः बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुका छोरा–छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिइएको छ ।
बैशाख ८ गते बसेको वडासमितिको बैठकको निर्णय एक सूचना मार्फत जारी गर्दै वडाध्यक्ष रामप्रसाद लामिछानेले यस्तो निर्देशन दिएका हुन् । वडाध्यक्ष लामिछानेले आफ्नो वडामा रहेका सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुले आफना छोरा–छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा मात्र भर्ना गराउन निर्देशन दिएका हुन् ।
यदि कुनैपनि शिक्षक वा शिक्षिकाले आफना छोरा–छोरीलाई संस्थागत (निजी) विद्यालयमा भर्ना गराएको पाइएमा ती शिक्षक वा शिक्षिकालाई पालिका र वडाबाट उपलब्ध हुने सेवा–सुविधा कट्टा गरिने चेतावनीसमेत वडाध्यक्ष लामिछानेले सूचनामर्फत दिएका छन् । वडाध्यक्ष लामिछानेको उक्त निर्देशनको वडाबासीले प्रशंसा गरेका छन् ।

