Madhes Khabar
राजनीति हेडलाइन

मधेस साहित्य महाेत्सवमा मधेस आन्दाेलनकाे मन्थन : मधेस आन्दाेलनकाे लाभ नेताले मात्रै लिए,जनता ठगिए

वीरगन्ज,२३चैत:वीरगन्जमा आयाेजित मधेस साहित्य महाेत्सवमा मधेस आन्दाेलन र त्यसका उपलब्धि बारेपनि चर्चा भयाे।दुई दिने महाेत्सवकाे अन्तिम दिन शनिबार आयाेजित `समथर मधेस संघर्षका नागबेली´ विषयक छलफलमा उक्त विषयमा चर्चा गरियाे।
छलफलमा सहभागी वक्ताहरुले मधेस मा तीन पटक भएको मधेस आन्दाेलनले मधेसीलाई पहिचान र सम्मान दिलाउन केही हदसम्म सफल भएपनि आन्दोलनबाट प्राप्त अन्य उपलब्धिहरुकाे लाभ मधेसी दल नेताहरुले मात्र लिइरहेकाे बताए ।मधेस आन्दाेलनका धेरै एजेन्डामध्ये मधेसीकाे पहिचान र सम्मान प्रमुख एजेन्डा रहेकाे भन्दै उनिहरुले मधेस आन्दाेलनले त्याे दिलाउन सफल भएको बताए ।तर आन्दोलनबाट प्राप्त अन्य उपलब्धिहरुकाे लाभ लिनबाट मधेसी जनता बञ्चित भएको वक्ताहरुले बताए ।मधेसीमाथि हुने विभेद पनि पूर्णरूपमा अन्त्य भने भइ नसकेकाे उनिहरुकाे धारणा थियाे।

छलफलमा पूर्व राजदूत विजयकान्त कर्णले भने,`मधेस आन्दाेलन समानताकाे आन्दोलन थियाे।मधेसीले हामीपनि नेपाली नागरिक बराबरकाे नागरिक नै हाैं भन्ने चिनाउनका लागि मधेस आन्दोलन गरेका थिए ।जुन अहिले केहि हदसम्म सफलपनि भएको छ।तर मधेसीमाथिकाे विभेद पूर्णरूपमा भने अझै अन्त्य हुनसकेकाे छैन।त्यस्तै आन्दोलनबाट प्राप्त अन्य उपलब्धिहरुकाे लाभ नेताले मात्रै लिइरहेका छन्। आन्दोलन गरेका मधेसी जनता ठगिएका छन्।´
मधेस आन्दोलनले लाेकतन्त्र र गणतन्त्रलाईपनि बलियाे बनाएको धारणा उनले राखे ।तर मधेस आन्दोलनबाट मधेसी जनताले भन्दा पनि मधेसी नेताले बढी लाभ लिइरहेको उनले तर्क गरे।सत्ताकाे माेह र आकर्षणमा मधेसका नेताहरु परेका कारण मधेस आन्दोलनका मुद्दा र आन्दोलनबाट प्राप्त उपलब्धिहरु स्थापित हुन नसकेकोपनि उनले बताए ।
मधेसी नेताहरुकाे सत्ताप्रतिकाे आकर्षणकै कारणले मधेस आन्दाेलनका कतिपय मुद्दाहरु अहिलेसम्म पनि सम्बाेधन हुन नसकेको उनले बताए।

मधेस राजनीतिकका विश्लेषक एंव लेखक तुलानारायण साहले मधेस आन्दाेलनका प्रमुख मुद्दाहरु पहिचान,सम्मान,संघीयता र समावेशी प्रतिनिधित्व रहेकाेमा ती मुद्दाहरु केही हदसम्म सम्बाेधन भएको बताए ।तर मधेस आन्दोलनबाट प्राप्त ती उपलब्धिहरुकाे बाँडफाँड वा लाभ लिने सन्दर्भमा भने मधेसी जनता ठगिएको बताए ।मधेसी जनताले पहिचान र सम्मान त धेरै हदसम्म पाए,उनले भने,`तर अन्य उपलब्धिहरु जस्तै संघीयता र राज्यका निकायमा प्रतिनिधित्व हुने कुरामा भने दलका नेताहरुले मात्रै लाभ उठाइरहेका छन् ।ती उपलब्धिकाे लाभ पाउनबाट मधेसी जनता बञ्चित भइरहेका छन्।´
मधेसका दलित अधिकारकर्मी भाेला पासवानलृ पनि मधेस आन्दोलनबाट प्राप्त उपलब्धिकाे लाभ मधेसी दलका नेताहरुले मात्रै लिइरहेको बताए।उनले भने,`आन्दोलनमा शाहदत मधेसका पिछडिएका , सिमान्त,दलित,अल्पसंख्यक समुदायका जनताले दिए तर उपलब्धिकाे लाभ भने नेताहरु र सम्भ्रान्त वर्गले मात्रै लिइरहेका छन् ।´
मधेस प्रदेशका प्रदेशसभा र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेकाहरुकाे नामावली हेर्ने हाे भने त्याे कुराकाे पुष्टि हुने उनले बताए।
मधेस राजनीतिका विश्लेषक एंव लेखक तुलानारायण साहलेपनि पासवानकाे तर्कप्रति समर्थन जनाए।साहले भने,`जुन समुदाय वा तप्काले मधेस आन्दोलनमा शाहदत दियाे,आन्दोलन गरेर काठमाडौंसंग अधिकार लियाे ,आज ती समुदाय आन्दोलनको उपलब्धिकाे लाभ लिनबाट बञ्चित पारिएका छन्।ती समुदायसंग याे सरासर बेइमानी नै हाे।यसले मधेसमा फेरि अर्को विद्राेह जन्माउने खतरा छ।´
मधेसका जानकार एंव अर्थशास्त्री राकेश मिश्राले मधेसमा मधेसी जनताले आजसम्म गरेका कुनैपनि राजनीतिक आन्दोलन वा विद्राेहलाई काठमाडौंकाे शासनसत्ताले नेपाली जनताकै हाे भनेर नस्वीकारे जिकिर गरे।मधेस आन्दाेलनका क्रममा गरिएको नाकाबन्दीलाई काठमाडौंले भारतले गरेकाे भनेर दुष्प्रचार गर्दै आएकाे भन्दै उनले आक्राेशपनि पाेखे।उनले भने,`नाकाबन्दी मधेसका जनता र मधेसी दलले गरेका थिए।बरु त्यसबेला भारतले त मधेसी जनता र नेतालाई धाेखा पाे दिएकाे थियाे।´
पूर्व राजदूत कर्णले केन्द्रमा बनेकाे कांग्रेस-एमालेकाे गठबन्धन र समाजवादी माेर्चासंग प्रतिस्पर्धा गर्न मधेस केन्द्रीत सात दलले अहिले संयुक्त लाेकतान्त्रिक माेर्चा बनाएकाे टिप्पणी गरे।
उत्कर्ष नेपालले आयाेजना गरेकाे मधेस साहित्य महाेत्सव अन्तर्गत शनिबार भएकाे उक्त प्यानल छलफलकाे सहजिकरण मधेरखबरकी सम्पादक माधुरी महत्ताेले गरेकी थिइन् ।

Related posts

सिके राउत पनि बालकाेटकाे वार्तामा सहभागी

MadhesKhabar

वीरगन्जमा जेनजी शहिदका दाई मुराद आलमको संयोजकत्वमा जेनजी युवा कमिटी गठन

MadhesKhabar

पर्सागढीमा राष्ट्रिय शिक्षक संगठनकाे अधिवेशन सम्पन्न ,अध्यक्षमा थारु चयन

MadhesKhabar

Leave a Comment