
वीरगन्ज,१३चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस १६ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको एक हप्तादेखि राेकिएकाे मतगणना बुधवार अपरान्हदेखि सुचारु भएको छ ।
मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समिति र विद्यार्थी सङ्गठनहरूबिच भएको सहमतिपछि बुधबार अपरान्ह ४ बजेदेखि मतगणना सुचारु गरिएको हो ।
प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले बुधबार दिउँसो २ बजेदेखि नै मतगणना सुचारु गर्ने सहमति भएपनि अपरान्ह ४ बजेदेखि मात्रै मतगणना पुन सुरु भएको बताए ।
यसअघि बुधबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयकाे पहलमा क्याम्पस प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, बार एसोसिएसन, मानवअधिकार संठन र विद्यार्थी संठनका प्रतिनिधिहरूसँग बैठक बसेर दिउँसो २ बजेदेखि मतगणना सुचारु गर्ने सहमति भएको थियाे ।
मतगणना स्थलमा प्रजिअ अर्यालसहित पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायत सुरक्षाकर्मी र प्रशासकीय अधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ ।
स्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सिंहले बिहीबार दिउँसोसम्म मतगणना सम्पन्न गरी विजेता घोषणा गर्ने योजना रहेको बताए । “मतगणना रोकिँदा क्याम्पसकोपठनपाठन प्रभावित भएको थियो । विद्यार्थीहरूले दिएको मतको कदर गर्न र लामो समयदेखिको नेतृत्व रिक्तताको अन्त्य गर्न मतगणना पुनः सुरु गरिएको हो,” उनले भने ।
यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले क्याम्पसमा नक्कली प्रमाणपत्र र कागजातका आधारमा भएको कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि विद्यार्थीहरू पुनः मतगणना गर्न सहमत भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सुमन कुमार कार्कीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र तीन विद्यार्थी संगठनका प्रतिनिधि सदस्य छन् ।
समितिलाई फर्जी भर्नाको विस्तृतअनुसन्धान गरी दोषीमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । “फर्जी भर्नाको गम्भीर आरोपमाथि निष्पक्ष छानबिन हुनेछ र दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,”प्रजिअ अर्यालले भने ।
मतगणना पुनः सुरु भए पनि सबै पक्षको सहमति भने जुट्न सकेको छैन । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले फर्जी भर्नाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा रिट निवेदन दायर गरेको बताए । ”हामीले अदालतको निर्णय नआएसम्म मतगणना हुनुहुँदैन भन्ने अडान राखेका छौँ,” उनले भने ।
समाजवादी विद्यार्थी युनियन नेपालका उम्मेदवार मोहम्मद सागिर अलि र जय नेपाल विद्यार्थी संघका उम्मेदवार राजु गुप्ताले पनि अदालतको फैसला कुर्नुपर्ने माग दोहोर्याए ।उनिहरुले उच्च अदालतको निर्वाचन प्रक्रिया रोक्न गरेको आदेशको क्याम्पस प्रशासन र स्थानीय प्रशासनले अवज्ञा गरेको आरोप पनि लगाएका छन् ।
चैत ५ गते ठाकुरराम क्याम्पसमा १६ वर्षपछि सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना चैत ६ गते साँझदेखि सुरु भएको थियो । तर, दोस्रो दिन बिहीबार मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिसँग भएको मुचुल्का नम्बर नमिल्दा विवाद चर्किएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रशासनले एउटा विशेष समूहलाई जिताउन मतपेटिका साटेको आरोप लगाएर विरोधमा उत्रिएपछि मतगणना स्थगित भएको थियो । विवाद बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाएका थिए भने भोलिपल्ट वीरगन्जमा वृहत् र्याली निकालेका थिए ।
चैत ६ मा मतगणना रोकिनुअघिको तथ्याङ्कअनुसार नेपाल विद्यार्थी समूहका स्ववियु सभापति उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अनेरास्ववियुका पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । सभापति पदमा १४ जनासहित २१ पदका लागि २४७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

