Madhes Khabar
राजनीति हेडलाइन

ठाकुुरराममा स्ववियु चुनाव भएको एक हप्ता बित्दापनि आएन नतिजा : के गर्दैछ स्थानीय प्रशासन ?

वीरगन्ज,११चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भएको झण्डै एक हप्ता बित्दापनि चुनावको मतपरिणाम आउन सकेको छैन ।

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि गत मंगलबार स्ववियु निर्वाचन भएको थियो । मंगलबार मतदानपछि बुधबार साँझदेखि मतगणना सुरु पनि भयो ।तर मतगणना चलिरहदाँ एउटा मतपेटिकाको सिल नम्बर मुचुल्का उठाँउदा लगाइएको सिल नम्बर भन्दा फरक परेपछि विवाद भई बिहीबार दिउँसोदेखि मतगणना अवरुद्ध छ । अवरुद्ध मतगणना अहिलेसम्मपनि सुचारु नुहदाँ गत मंगलबार भएको निर्वाचनको नतिजा आउन नसकेको हो ।

बिहीबार दिउँसो मतगणना अवरुद्ध हुनु अघि करिब १ हजार ४ सय मत गनिसक्दा निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समुह नामबाट उम्मेदवार बनेका राज कुमार यादव ४ सय २० मतका साथ अग्रस्थानमा थिए । यस्तै नेविसंघका उम्मेदवार विकास मण्डल धानुक २६१ मतका साथ दोस्रो,समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ म्तका साथ तेस्रो , सुधिर पटेल समुहका उम्मेदवार कमलेश यादवले २०४ मतका साथ चौथो र अनेरास्ववियुका पवन यादव १५० मतका साथ पाँचौ स्थानमा थिए ।

मतपेटिकाको सिल नम्बर फरक परेपछि समाजवादी विद्यार्थी युनियन,अनेरास्ववियु, अखिल क्रान्तिकारी,स्वतन्त्र विद्यार्थी समुह,जय नेपाल विद्यार्थी संघ लगायतका १० संगठनले विरोध प्रदर्शन गर्नथालेपछि बिहीबार राति निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगीत गरेको थियो ।

असन्तुष्ट १० विद्यार्थी संगठनहरुले मतदानमा फर्जि मत खसालिएको , गणनामापनि धाँधली गरिएको , मतपेटिकाकै सिल नम्बर फरक भेटिएकोले चैत ५ मा भएको निर्वाचन रद्ध गरेर पुन अर्को निर्वाचन गराउनुपर्ने माग गर्दै आएका छन् । उनिहरुले शुक्रबारदेखि वीरगन्जमा विरोध जुलुशपनि प्रदर्शन गर्दै आएका छन् ।

यता नेपाल विद्यार्थी समुह,नेविसंघ लगायतकाा संगठनहरुलेपनि स्थगीत मतगणना सुचारु हुनुपर्ने माग राखेर प्रदर्शन गर्दै आइरहेका छन् ।

स्थगीत मतगणना सुचारु गराउनका लागि भन्दै गत शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा जिल्लाका सुरक्षा निकायका प्रमुख, क्याम्पस प्रशासन र विद्यार्थी संगठनका उम्मेदवारहरुबीच छलफलपनि भयो । तर उक्त छलफलपनि निष्कर्षविहिन बन्न पुग्यो ।

क्याम्पस प्रमुख रणजीत यादवले स्थगीत मतगणना सुचारु गराउनका लागि प्रयास भइरहेको बताए । सोमबारपनि असन्तुष्ट विद्यार्थी संगठनका नेताहरु एक चरणको छलफल गरिएको उनले बताए ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले पनि स्थगीत मतगणना अगाडि बढाउनका लागि सरोकारवाला विभिन्न पक्षहरुसंग छलफल र संवाद भइरहेको बताए । उनले भने,‘आज(सोमबार) पनि असन्तुष्ट पक्षका विद्यार्थी नेताहरुलाई बोलाएर मैले छुट्टा छुटटै छलफल गरिसकेको छु । यसपछि राजनीतिक दलका प्रतिनिधी, नेपाल पत्रकार महासंघ र मानवअधिकारकर्मीसंग छलफलको तयारी भइरहेको उनले बताए । उनले भने,‘५ दिनदेखि स्थानीय प्रशासनले निरन्तर छलफल गरिरहेको छ । रोकिएको अवस्थाबाटै मतगणना अगाडि बढाउन स्थानीय प्रशासन र क्याम्पस प्रशासन प्रतिबद्ध छ । तर मतगणना सुरु कहिले र कति बजेदेखि गर्ने भन्ने कुरा टुंगीन बाँकी रहेको छ । ’

ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि यसपालि भएको स्ववियु निर्वाचनमा सभापति पदमा १४ जना उम्मेदवार छन् । गत मंगलबार भएको निर्वाचनमा ४० प्रतिशत मात्रै अर्थात कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत मात्रै खसेको थियो ।

 

Related posts

क्रिकेटको ‘स्पट फिक्सिङ’ प्रकरणमा वीरगन्जबाट पनि एक क्रिकेटर पक्राउ

MadhesKhabar

वीरगन्जमा विद्युत आपूर्तिकाे समस्या तत्काल समाधान गर्न नेकपा (एस) काे आग्रह

MadhesKhabar

प्रदीप यादवकाे लाेकप्रियता बढ्दै : जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार ठाकुर जसपा प्रवेश

MadhesKhabar

Leave a Comment