वीरगन्ज,२५फागुनः मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन जिल्ला समितिले आइतबार वीरगन्जमा प्रदर्शन गरेको छ । समितिले विरोध जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको प्रति आपत्ति जनाउँदै ज्ञापन पत्रमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराइएको मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल पर्साका अध्यक्ष कृष्णराज ठाकुरले बताए ।
समितिले अनुचित लेनदेनविरुद्ध जाँचबुझ आयोगको सन्दर्भमा सरकारले पछिल्लो समय गरिरहेको राजनीतिक हस्तक्षेप र आयोगलाई प्रभावहीन बनाउन थोपरिएको अर्को आयोगप्रति विरोध जनाउँदै आयोग गठन गर्नुको उद्देश्य कुनै व्यक्तिलाई जागिर खुवाउने नभएको स्पष्ट पारेको छ ।
ज्ञापनपत्रमा हालसम्म सरकारी तथ्यांकमा दर्ता भएका करिब ६० हजार निवेदन कुनै अध्ययन अनुसन्धान नगरी रद्दीको टोकरीमा फालिएको आरोप लगाइएको छ । पीडितहरूलाई अन्योलमा राखी उल्टै प्रहरी संयन्त्रमार्फत उनीहरूलाई कारबाही अघि बढाइएको भन्दै आन्दोलनकारीले सरकारमाथि आक्रोश व्यक्त गरेका छन् ।
पीडितहरूको मागअनुसार समाधान खोज्नुभन्दा राज्यले मिटरब्याजी साहुहरूको संरक्षण गर्दै सरकारी संयन्त्र परिचालन गरिरहेको उनिहरुको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले आफू जिल्लामा रहेको समस्या समाधानमा सक्दो प्रयासरत रहेको बताएका थिए । उनले प्रहरी र जिल्ला प्रशासन दुवै पक्षबाट समस्या समाधानका लागि पहल भइरहेको बताए ।साभारःकान्तिपुर

