वीरगन्ज,२५फागुनः चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले चुनावी प्रचार प्रसार लगायतका गतिविधीलाई तिब्रता दिएको छ ।
स्ववियु निर्वाचनका लागि फागुन १९ म संगठन दर्ताकै दिन क्याम्पसमा शक्ति प्रदर्शन गरेको नेविसंघका नेताकार्यकर्ताहरुले आइतबार भने क्याम्पसमै विद्यार्थीहरु माझ पुगेर भेटघाट गर्दै नेविसंघलाई मत दिन आग्रह गरेका छन् । नेविसंघ पर्साका सभापति रमेश यादव नेतृत्वको टोलीले क्याम्पसमा अध्ययनरत हरेक संकायका विद्यार्थीहरुसंग भेटघाट गर्दै मत दिन आग्रह गरेका हुन् ।
स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट उम्मेदवारका आकांक्षी विद्यार्थी नेताहरुसहितको टोलीले आइतबार क्याम्पसमा विद्यार्थीहरुलाई भेटेर नेविसंघलाई मत दिन आग्रह गरेको नेविसंघ पर्साका सभापति यादवले बताए ।
ठाकुरराम क्याम्पसको स्ववियुमा विगतदेखि नै नेविसंघको विरासत रहेको भन्दै उनले विद्यार्थीको सुखदुखमा नेविसंघ सदैव साथमा रहेको र विद्यार्थीका हकहितका लागि नेविसंघले वकालत गर्दै आएका कारण यसपालिको स्ववियु निर्वाचनमापनि नेविसंघ नै विजयी हुने दाबी गरे ।
स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान चैत ५ गते रहेको छ ।

