कठमाडौं,२०फागुनःसरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच पाँच बुँदे सहमति भएको छ । सिंहदरबारमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार भएको वार्तापछि ग्यासको भाउ प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलनपनि फिर्ता लिएका छन् ।
सहमतिको १ नम्बर बुँदामा भनिएको छ, ‘मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीलाई जानकारी गराइयो ।’
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँबाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।

