काठमाडौं,२७माघःशनिबार खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएपछि नयाँ कार्यकक्ष तयार पारिएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेको थियो ।
मन्त्री यादवले आइतबारदेखि नै अस्थायी रूपमा आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गरेका हुन् । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ मा आइतबारदेखि अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरु गरिएको मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर जानकारी दिएका छन् । ’शनिबार आगलागी भएर मेरो कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मत कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सूचारु गरिएको छ,’ यादवले भनेका छन् ।
मन्त्री यादवले शनिबार भएको आगलागीबाट मन्त्रालयका अति महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएका छन् । शनिबार बिहान भएको आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटरलगायतका सामग्री नष्ट भएका छन् ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानीमन्त्री यादवको कार्यकक्षको अनुगमनसमेत गरेको थियो ।

