वीरगन्ज,२४माघःगाँउमा बिजुली नहुदाँ जंगली जनावरको डरले सम्साँझै घरभित्र छिरिहाल्थे गाँउले ।वस्ती छेउकै खोलाबाट गाग्री र ग्यालेनमा भरेर ल्याएको पानी नै पिउथे । नुहाउन,लुगाकपडा धुने सबै काम त्यहि खोलाको पानीबाट हुन्थ्यो ।पर्सा राष्ट्रिय निकुञ्ञको घनजा जंगल बिचमा अवस्थित शिकारीबास गाँउका स्थानीयको दुःख त्यतिमात्रै सिमित थिएन ।
गाँउमा कसैलाई सामान्य ज्वरो आइ हाल्यो भने एक चक्की सिटामोलका लागि पनि जंगलको ७ किलोमिटेर गोरेटो बाटो छिचोलेर ब्रम्हानगर वा विजयबस्तीको हेल्थपोष्टमा पुग्नु पथ्र्यो । सिकिस्त बिरामी परे परिवारजन र छिमेकीले ढोड्सन् (कपडा र बाँसको झोलुङगे) मा बोकेर ७ किलोमिटर परको त्यहि विजयबस्तीको हेल्थपोष्टमा पुर्याउँथे ।कारण गाँउमा न हेल्थपोष्ट थियो न एम्बुलेन्स आउन सक्ने कच्ची बाटो नै थियो ।
तर अहिले गाँउका पोलहरुमा सोलार बत्ती झलमल्ल बल्छ । त्यसकै उज्यालोमा गृहणी महिलाहरुले साँझ पर्दासम्म पनि गाँउका धारामा निर्धक्क भएर घरका कामधन्दा सकाउँछन् । अब खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यतापनि छैन स्थानीयलाई । ५२ घरधुरी रहेको शिकारीबासका विभिन्न ७ स्थानमा धाराको व्यवस्था गरिएको छ ।
गाँउमा कोहि सिकिस्त बिरामी परिहाले अस्पतालमा लैजान गाँउमै एम्बुलेन्स आइपुग्छ (वर्षातको समय बाहेक) । दुई बर्ष यतादेखि गाँउमै हेल्थपोष्ट पनि सञ्चालनमा आइसकेको छ । सामान्य घाउचोेट लागे , ज्वरो रुघाखोकी लागे बिरामीले गाँउमै औषधीमुलो गर्न पाउँछन् ।जंगलको बाटो थोरै भएपनि चौंडा पारेर ग्राभेल गरिएको छ।जसका कारण मोटरसाइकल,ट्याक्टर,एम्बुलेन्स ,साना गाडी गाँउमै आइपुग्छन् ।
गाँउ परको जंगलभित्रको खोलाको मुहानलाई व्यवस्थित गरेर त्यहाँबाट गाँउसम्म पाइप बिछ्याएर ७ ठाँउमा धाराको व्यवस्था गरिएको स्थानीय अगुवा सुजित बस्नेत बताउँछन् । ६ बर्षपछि बुधबार साँझ शिकारीबासमा पुग्दा भेटिएका बस्नेतले भने,‘अब पहिलाको जस्तो खोलाको धमिलो पानी पिउनु परेको छैन अहिले । पालिकाको आर्थिक सहयोगमा गाँउमा ७ ठाँउमा धाराको व्यवस्था गरिएको छ । यसले धेरै हदसम्म सजिलो भएको छ ।’
यस्तै शिकारीबासमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानीमा सोलारमार्फत विद्युतीकरण गरिएपछि गाँउ उज्यालोपनि भएको बस्नेतले बताए। उनका अनुसार, सौर्य ऊर्जाबाट २३ किलोवाट बिजुली उत्पादन गरेर ५२ घरधुरीमा बिजुली उपलब्ध गराइएको छ । यस्तै गाउँभरि रहेका २५ वटा पोलमा पनि बत्ती बल्छ ।
शिकारीबासका रैथाने ५८ बर्षीय बमभोला महत्तोले भने,‘सोलारको बत्तीले गाँउ अचेल उज्यालो छ।साँझसम्मपनि महिलाहरु धारामा गएर घरको कामधन्दा सकाउछन् । पहिलाको जस्तो साँझमा जंगली जनावरको डर अचेल हुदैन ।’
‘सोलारको बिजुलीबाट घरघरमा बत्ती बल्छ,टिभी,फ्रिजपनि चल्छ,यसले हामी गाँउलेको जिवनशैली थोरै भएपनि फेरिएको छ।’,स्थानीय अगुवा बस्नेतले भने ।
विगत दुई वर्षदेखि गाँउमै हेल्थ पोष्टपनि सञ्चालनमा आएको कारण औषधिउपचारका लागि पहिलाको जस्तो ७ किलोमिटर जंगलको बाटो पार गरेर अस्पतालमा जानुपर्ने बाध्यता भने अहिले टरेको अगुवा बस्नेतले बताए ।उनले भने,‘हेल्थपोष्टमा एक जना अहेब बस्छन् ।पहिलाको जस्तो एक चक्की सिटामोलका लागि ७ किलो मिटर पैदल हिंडेर जानुपर्ने बाध्यता छैन अहिले ।घाउको मलपट्टी, पानी चढाउने काम यहि हुन्छ ,सामान्य औषधिहरुपनि पाइन्छ अहिले ।
गाँउमा कोहि सिकिस्त परे गाँउमै एम्बुलेन्सपनि आउन सक्ने भएको भन्दै उनले भने,‘ तर वर्षात्को समयमा अलि समस्या हुन्छ । आठ महिना चाहि एम्बुलेन्स गाँउमा सजिलै आउँछ ।’
६ वर्ष पहिले भने शिकारीबासमा अन्नपूर्णपोष्टकर्मी पुग्दा राज्यको उपस्थितीका रुपमा दुई कोठे जीर्ण अवस्थाको एउटा विद्यालय भवन मात्रै थियो । पाच कक्षा पछिको आधारभूत शिक्षाका लागि सात किलोमिटर जंगलको जोखीमपूर्ण बाटो हिडेर अन्य गाँउका विद्यालयमा जानु पर्ने बाध्यता हुदाँ स्थानीयका अधिकांश बालबालिका पाच कक्षा पास गरेपछि विद्यालय नै जाँदैनथे ।
तर अहिले उक्त विद्यालयको चार कोठे भवन बन्दैछ । बस्नेतले भने,‘अहिले त स्कुलमा विधार्थीको संख्यापनि बढेर ४९ पुगिसकेको छ । चार कोठे नयाँ भवनपनि बन्दैछ । छिट्टै निर्माणको काम सकिन्छ । विद्यालयमा दुई जना स्थायी, एक निजी श्रोतका र एक बालविकासका गरी चार जना शिक्षकहरु हुनुहुन्छ । विद्यालयको अवस्थामा पहिलेको भन्दा अहिले धेरै सुधार आउँदैछ ।’
५/६ बर्षअसिम्म ढुंगे युगमा बाँचिरहेको जस्तो देखिने शिकारीबास गाँउमा शिक्षा,स्वास्थ्य,खानेपानी, सडक,विद्युत लगायतका क्षेत्रमा सुधार आँउदै गर्र्दा स्थानीयले थोरै भएपनि राज्यको उपस्थिती हुन थालेको महसुस गर्न थालेका छन् ।
तर अझैपनि सडकको असुविस्ता,जंगल जनावरको उपद्रो,खोलाको कटान इत्यादि समस्या भने ज्युँ का त्युँ नै रहेको स्थानीयको दुखेसो छ ।स्थानीय बृद्धा लक्ष्मी चौधरीले भनिन्,‘पहिलाको जस्तो खोलाकै पानी पिउनुपर्ने अवस्था अहिले छैन । गाँउमा धाराहरु छन् ।लगाएको बालीनाली हात्ती,घोडगदाहा,बँदेलले सबै सखाप पारिदिन्छन् । सरकारले जंगली जनावरको उपद्रो रोक्ने व्यवस्था मिलाइ दियो भने हामीलाई धेरै राहत मिल्थ्यो ।’
गाँउमै भेटिएकी अर्की बृद्धा भंगीय देवी थरुनीले भनिन्,‘पहिलेको भन्द्या अहिले धेरै सुविस्ता छ । तर हामी अहिलेपनि खरको झप्रोमै बस्नु परेको छ । सरकारले हामी गरिबका लागि कमसे कम जस्तापात दियो भने अलि राम्रो हुन्थ्यो ।’
स्थानीय बमभोला महतो थारुले नदी कटान रोक्न तटबन्ध , जंगली जनावरको उपद्रो रोक्न सोलार फेन्सको तारबार,सडकको स्तरोन्नत्ती र विद्युतीकरण सरकारले गरिदिनुपर्ने माग गरे । उनले भने,‘अहिले त सोलार बत्तीले काम चलिररहेको छ । तर यो सोलार प्लान्ट कहिलेसम्म चल्ने ठेगान छैन । त्यसकारण राष्ट्रिय प्रसारणको लाइनबाट विद्युतीकरण सरकारले गरिदिनुपर्छ ।सरकारले नदी कटान, जनवारको उपद्रो ,विद्युतीकरण र सडकको काम गरिदियो भने शिकारीबास स्वर्ग जस्तै बन्ने उनले बताए । तर सरकार वा राजनीतिक दलका नेताहरुले आश्वासनमात्रै बाँडदै आएको उनले सुनाए । उनले भने,‘चुनावका बेला सबै पार्टीका नेताहरु गाँउमा आउँछन् । यहाँको समस्या समाधान गरिदिन्छौ भनेर भाषण गर्छन् । तर जितेर गएपछि भने गाँउमा मुख देखाउँनपनि आउँदैनन् ।’
स्थानीय अगुवा बस्नेतले पनि शिकारीबासमा खोला कटानको समस्याले गाँउलेहरु धेरै पिडित रहेको बताए । उनले भने,‘पहिले यो गाँउमा आवादीको जग्गा १ सय ६० बिघा थियो । तर खोलाले कटान गर्दै जाँदा अहिले आवादी जग्गा ८५/९० बिघा मात्रै छ ।’
ब्रम्हानगरदेखि जंगल हुदैं शिकारीबासी गाँउमा पुग्ने अहिलेको ग्राभेल सडकको स्तरोन्नत्ती,राष्ट्रिय प्रशारणको लाइनबाट विद्युतीकरण र जंगली जनावरबाट बाली जोगाउने व्यवस्था सरकारले गरिदिनु पर्ने उनको माग थियो । उनले भने,‘हाम्रो गाँउमा अहिले भनेका मुख्य यहि तीन वटा समस्या छन् । सरकारको ध्यान जाओस् ।’
उनले निर्वाचित जनप्रतिनिधीहरु चुनावका बेला मत माग्न मात्रै गाँउमा आउने गरेको तर जितेर गएपछि भने फेरि फर्किएर नआउने गरेको बस्नेतले भने । नेताहरु प्रति व्यंग्य गर्दै उनले भने,‘नेताहरु त पाँच वर्षमा लाग्ने गढीमाई मेलाको जस्तै छन् । भोट माग्न आउँदा हाम्रा यी सबै समस्या समाधान गरिदिन्छौ भनेर आश्वासन दिन्छन् । तर जितेर गएपछि मुख देखाउँदैनन् । फेरि पाँच बर्षपछि अर्को चुनावमा मात्रै भोट माग्न गाँउमा आइपुग्छन् ।’
बस्नेतका अनुसार,पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने शिकारीबास पर्सा र चितवन राष्ट्रिय निकुन्जको जंगल बिचको समथर खाली भूमीमा झण्डै एक सय ५० वर्ष पहिले बसाइएकोे बस्ती हो । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने ब्रम्हनगर गाँउको चोकबाट उत्तर तिर सात किलो मिटर जंगलको कच्ची बाटो पार गरेपछि पुगिने शिकारीबास गाँउमा दुइ दशक अघि सम्म झण्डै एक सय घरधुरी थिए ।तर सरकारको तर्फबाट आधारभूत सुवासुविधा पुग्न नसकेपछि शिकारीबास गाउँबाट स्थानीयहरु आफनो थातथलो छाडेर अन्यत्र पलायन हुदै गएपछि त्यहा अहिले ५०/५२ घरधुरी मात्र छन् ।

