वीरगन्ज,२६पुसःगँहु बालीका लागि भारतले नेपालतर्फको गण्डक नहरमा पानी दिएको छ।भारतको भैंसालोटनदेखि सुरु हुने गण्डक नहर पर्सा,बारा हुदैं ८१ किलोमिटरको दूरी पार गरेर रौतहटसम्म पुगेको छ ।
नेपालतर्फको गण्डक नहरमा भारतीय पक्षले धान र गँहु बालीमा सिंचाईका लागि वर्षमा दुई पटक (असार १५ र पुस १० गते) मा पानी दिने नेपाल र भारतबीचको सम्झौतामा उल्लेख छ ।
त्यहि सम्झौता अनुसार भारतीय पक्षले नेपाल तर्फको गण्डक नहरमा अहिले गँहु बालीमा सिंचाईका लागि ५ सय क्युसेक पानी दिएको हो । गँहु बालीमा सिंंचाईका लागि भारत पक्षले गण्डक नहरमा पुस १४ गतेदेखि पानी छाडेको वीरगन्जस्थित नारायणी सिंचाइ ब्यवस्थापन कार्यालयका सुचना अधिकारी एंव इन्जिनियर सुरेश साहले जानकारी दिए ।
सम्झौतामा भारतले ८ सय ५० क्युसेक पानी दिनुपर्ने उल्लेख भएतापनि अहिले गण्डक नहरमा ५ सय क्यसेकमात्र पानी आइरहेको उनले बताए ।यद्यपि अहिले गण्डक नहरमा आइरहेको पानी गहुँ बालीमा सिंचाइको लागि पर्याप्त रहेको उनले बताए ।
गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा ३७ हजार हेक्टर जग्गामा सिंचाइ हुने गरेको छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किमी रहेको छ ।

