वीरगन्ज,२४पुसःपर्साको ठोरीमा फेरि जंगली हात्तीले आतंक मच्चाएको छ ।चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट बुधबार बिहान गाँउमा छिरेको हात्तीले आतंक मच्चाएको हो ।
बुधबार बिहान ३ बजेतिर जंगलबाट गाँउमा छिरेको हात्तीले ठोरी गाँउपालिका वडा नम्बर २ गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखिएको १२ मुरी भन्दा बढी धान खाइदिएएको हो।त्यस्तै गौतमनगरकै काजी प्याकुरेलको घरपनि उक्त हात्तीले घर भत्काएर घरमा राखिएको धान खाइदिएको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए।त्यहि हात्तीले गौतमनगरकै सीता गौतमको घरको बारपनि भत्काइदिएको सापकोटाले जानकारी दिए।
घरमा धान खाइ रहेको अवस्थामा गाउँलेहरुले हो हल्ला गरी भगाउन खोजेपनि हात्तीलाई बल्लतल्ल भगाउन सफल भएको गौतमनगरका स्थानीय जगन्नाथ बस्नेतले जानकारी दिए। स्थानीयहरुले हल्लागरी भगाएको हात्ती ईच्छानगरमा पसेको थियो । गौतमनगरबाट धपाइएको हात्ती ईच्छानगरमा पसेर बिहान ११ बजेसम्म मानवबस्तीमै डुलेको थियो । जसका कारण स्थानीय आतंकीत बनेका थिए ।
ईच्छानगर क्षेत्रमा उक्त हात्ती रहेका बेला सम्भावित दुर्घटनालाई मध्नजर गरेर हात्ती भएको क्षेत्रतिर नेपाली सेनालले स्थानीयबासीलाई आवतजावतमा रोक लगाएको थियो ।
तीनदिन पहिलेमात्रै ठोरीसंगै जोडिएको निकुञ्जको अमुवा पोष्टमा तैनाथ नेपाली सेनाका एक जवानलाई हात्तीले घाइते बनाएको थियो । ती घाइते सेनालाई त्यहि दिन उपचारका लागि नेपाली सेनाले चितवन लगेको वडाध्यक्ष सापकोटाले जानकारी दिए।

