काठमाडौं,११पुसः चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा नेपालबाट १३ अर्ब ४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ असोज, कात्तिक र मंसिर गरी ५ महिनामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट बिजुली भारततर्फ निर्यात गरेको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतको हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा ३ अर्ब ६८ करोड, असोजमा ३ अर्ब ७ करोड र कात्तिकमा १ अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको हो ।
यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ । चालु आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । साभार : कान्तिपुुर

