वीरगन्ज,१८मंसिरः बाराको बरियापुरमा लागेको विश्वप्रसिद्ध पञ्चवर्षिय गढीमाई मेलामा होटल,पसल थापेकाहरुसंग मेला समितिबाट ठेक्का लिएका ठेकेदारहरुले लुट मच्चाएका छन् ।
मेला क्षेत्रमा खाना–नास्ताका होटल,पसल,मनोरन्जका साधधन लगायत विभिन्न प्रकारका स्टल राखेकाहरुसंग श्री महागढीमाई पञ्चवर्षिय मेला बिजुली व्यवस्थापन उपसमितिले ठेक्का लगाएका ठेकेदारले बिजुलीको बल्ब बाले बापत मनपरी ढंगले रकम असुली रहेका छन् ।
बिजुली व्यवस्थापन उपसमितिबाट ठेक्का लिएका ठेकेदार वीरेन्द्र साह कानुले मेलामा पसल र स्टल थापेकाहरुसंग एउटा बल्ब बाले बापत एक दिनको ५० देखि १ हजार रुपैयाँसम्म असुल्दै आएका छन् ।
सिएफएल बल्ब ९ वाटको प्रतिदिनको शुल्क ५० रुपैयाँ, १८ वाटको १ सय रुपैयाँ, २५ वाटको १ सय ५० रुपैयाँ , ५० वाटको २ सय ५० रुपैयाँ, १ सय वाटको ७ सय ५० रुपैयाँ र २ सय वाटको बल्बको एक दिनको शुल्क १ हजार रुपैयाँ ठेकेदार साहले असुल्दै आइरहेको प्रमाण भेटिएको छ ।
मेलामा होटल,पसल र स्टलहरु थापेको जग्गाको भाडामा पनि अचाक्ली शुल्क तिर्नु परेको गुनासो आइरहदाँ जग्गाको भाडा बाहेक बल्ब बाले बापतको शुल्कको नाममा यसरी ब्रम्हलुट मच्चाइएपछि आलोचना झनै बढेको छ ।
महागढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले मेला क्षेत्रमा बिजुली व्यवस्थापनका लागि गठन गरेको बिजुली व्यवस्थापन उपसमितिबाट ठेकेदार साहले मेला क्षेत्रमा बिजुलीबत्ती व्यवस्थापनका लागि १८ लाख रुपैयाँमा ठेक्का लिएका छन् ।
मेला मूल समितिका महासचिव वीरेन्द्र यादवले एउटै बल्बको एक दिनको शुल्क १ हजार रुपैयाँसम्म लिनु जायज नभएको प्रतिक्रिया मधेसखबरलाई दिए । उनले भने,‘समितिले एउटा बल्बको प्रतिदिन शुल्क ४० देखि ५० रुपैयाँ मात्र लिनु भनेर ठेकेदारलाई भनेका थियौं ।तर यस्तो गुनासो आयो । यसविषयमा सम्बन्धित ठेकेदारलाई तुरुन्तै बोलाएर हामी बुझ्छौ ।’
महासचिव यादवका अनुसार, मेला समितिले ठेकेदार साहबाट धरौटीबापत १८ लाख रुपैयाँ लिएको छ । मेलासकिएपछि खपत भएको विद्युतको शुल्कको हकमा प्रति युनिट १९ रुपैयाँ ७५ पैैसा ठेकेदारले समितिलाई तिर्नेर्छन् ।

