वीरगन्ज,८मंसिरःसंघीय सरकारका कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बाराको महागढीमाई नगरपालिका–१ बरियारपु्रमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
मंसिर १ गतेदेखि सुरु भइसकेको गढीमाई मेलामा पुगेर गढीमाई मन्दिरको दर्शन गर्ने क्रममा मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन् । गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन प्रयास गरिने बताउँदै मन्त्री चौरसियाले मन्दिरको विकासको लागि सरकारबाट जे जे गर्न सकिन्छ त्यो सबै पहल गरिने जानकारी दिए।
मन्दिर क्षेत्रमा अझै एउटा धर्मशालाको आवश्यकता रहेको भन्दै उनले बृहतर गढीमाई विकास समिति गठन गरेर मन्दिरको विकास गर्नुपर्नेमा जोड दिए ।
गढीमाई मेलाको व्यवस्थापनबारे मेला समितिका पदाधिकारी र सदस्यहरुसंग जानकारी समेत लिदैं उनले गढीमाई मेलामा सरकारको पूर्ण सहयोग रहेको बताए । पाँच बर्षमा एक पटक लाग्दै आएको गढीमाई मेलामा आएपछि सबैको मनोकामना पूरा हुँदै आएको उनले बताए ।मन्त्री चौरसियाले गढीमाईको मन्दिर विकासका लागि सरकारले बजेट व्यवस्था गर्नुपर्ने जिकिर गरे।साभारः देशसञ्चार

